Suvadin, Home

नवलपरासीमा उच्च सुरक्षा सतर्कता
बम विष्फोटकाे अाराेपमा विप्लवका चार कार्यकर्ता पक्राउ

विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन्। उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए। 
नेकपाका संयाेजक नेत्रविक्रम चन्द विप्लव।

नवलपरासी, असार १३–दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तह लक्षित गरी उच्च सतर्कता अपनाइएको छ। 

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको हो। 

सुरक्षा निकायले नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं ५ मा पर्ने सात स्थानीय तहमा कुल ७० वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा रणनीति अघि सारेको छ। 

सत्तरीवटै अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। अतिसंवेदनशील क्षेत्रका लागि आवश्यक परेमा हेलिकप्टरबाट गस्ती गर्ने र विशेष सुरक्षा योजना प्रबन्धको व्यवस्था मिलाइएको रानाले जानकारी दिए। 

अतिसंवेदनशील मानिएका ती मतदानस्थलको भित्री सुरक्षाका लागि प्रहरी निरीक्षक वा सईको कमाण्डमा सातजनादेखि ११ जना प्रहरी र त्यति नै सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिने तयारी छ। बाहिरी घेरमा सशस्त्र प्रहरी परिचालन गरिनेछ। मतदानस्थलबाट केही टाढा नेपाली सेनाको टोलीलाई रहेन व्यवस्था मिलाइएको छ। 

सुरक्षाकर्मीको विशेष टोलीसहितको हेलिकप्टर बुटवलमा तैयारी अवस्थामा राखिएको छ भने आवश्यकताअनुसार जुनसुकै समयमा पनि सुरक्षाको दृष्टिकोणले प्रयोग गर्न सकिने गरी तयारी हालतमा राखिएको छ। 

नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेका सातवटा स्थानीय तहमा २४० मतदान केन्द्रका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेना गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन भएका छन्। 

निर्वाचनका लागि नवलपरासीका तीनवटा नगरपालिका र चारवटा गाउँपालिकामा अतिसंवेदनशील स्थलमा सदरमुकाम रामग्राम नगरपालिकाकै दक्षिणी भेगका मतदानकेन्द्रसमेत रहेका छन्। 

सदरमुकामबाहेक सुस्ता, प्रतापपुर, पाल्हीनन्दन गाउँपालिकाका मतदान केन्द्रलाई अतिसंवेदनशील मानिएको छ। 

त्यस्तै, सुरक्षाको दृष्टिले संवेदनशील २७ र सामान्य अवस्थाका २३ मतदानस्थल रहेका छन्। नवलपरासीका १२० स्थलमा २४० मतदान केन्द्र रहेका छन्। रासस 

विष्फोट घटनामा चारजना पक्राउ 

यसैबीच, नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ। 

विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन्। उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए। 

पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए । सुनवल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले निकालेको चुनावी प्रचारप्रसार अभियान लक्षित गरी आइतबार सोमनाथ पुलमा बम नजिक विष्फोट गराइएको थियो । 

प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ। विष्फोटमा छ जना घाइते भएका थिए। घाइतेमध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । अर्की गम्भीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँचवटा विष्फोट र आगजनीका घटना भएका छन् जसमा तीनवटा विष्फोट र दुईवटा सवारीसाधन माथि आगजनी भएका छन्। 

घटनामध्ये चारवटा माओवादी केन्द्र माथि भएका छन् । एउटा विष्फोटको घटना नेकपा (एमाले)का उम्मेदवारको घरमा गराइएको छ। सबै घटना विप्लव समूहले गराएको आशङ्कामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ। रासस 


 

More form the Internet

loading...