Suvadin, Home

अदालतको कामकारबाही प्रभावित स्वीकारिँदैन : सर्वोच्च
नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालमाथि कुनै पनि किसिमको छानविन अगाडि नबढाउन सरकारको नाममा अन्तरकालीन आदेश दिएको छ। मंगलबार न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले सो आदेश दिएको हो। वैशाख १० गते डिआइजी सिलवालले आफूमाथि गैरकानुनी तरिकाले छानविन गर्न खोजेको भन्दै निषेधाज्ञालगायत उपयुक्त आदेश जारी गरिपाऊँ भनी निवेदन दिएका थिए।
नवराज सिलवाल।

काठमाडौं, वैशाख १२ - सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालमाथि कुनै पनि किसिमको छानविन अगाडि नबढाउन सरकारको नाममा अन्तरकालीन आदेश दिएको छ। मंगलबार न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले सो आदेश दिएको हो। 

वैशाख १० गते डिआइजी सिलवालले आफूमाथि गैरकानुनी तरिकाले छानविन गर्न खोजेको भन्दै निषेधाज्ञालगायत उपयुक्त आदेश जारी गरिपाऊँ भनी निवेदन दिएका थिए। प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र लोकसेवा आयोगमा मात्र सक्कली प्रति रहने र प्रहरी प्रमुखको पनि पहुँचमा नरहने कार्यसम्पादन फाइल सिलवालले कीर्ते गरेको अभियोग लगाएर सरकारले छानविन गर्न खोजेको थियो। 

यही सिलसिलामा सिलवाललाई पक्रेर सोमबार दिनभरि वयान पनि लिएको थियो। सर्वोच्च अदालतले रजिष्ट्रार वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा छोड्न आदेश दिए पनि अदालत उपस्थित नगराई सिलवाललाई प्रधान कार्यालयले घरमा छोडेको थियो। 

सर्वोच्च अदालतको आदेश प्रतिकूल गएर सरकारले दोस्रो वरियताका डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्ति गरेको थियो। त्यसविरूद्ध उनी कार्यसम्पादन मूल्यांकनमा गडबड गरिएको भन्दै पुनः अदालत गएका थिए। उनको निवेदनमा सुनुवाइ गर्न वैशाख १९ गते पूर्ण इलजास बस्दैछ। 

त्यसअगावै उनीमाथि छानविन र मुद्दा चलाउने तयारी प्रहरी प्रधान कार्यालयको थियो। स्रोतका अनुसार सिलवाललाई रोक्न अहिले आइजिपी अर्याल आफैं लागेका छन्। सरकारले अर्यालको बढुवा गर्दा कीर्ते फाइल खडा गरेको सिलवालले निवेदनमै उल्लेख गरेका थिए।

अदालतले वैशाख १९ गते अन्तिम सुनुवाइका लागि पेशी राखेको हुँदाहुँदै सरकारको कुनै निकायबाट मुद्दा प्रभावित पार्ने कामकारबाही गरिनुलाई उचित र स्वीकार गर्न नसकिने अादेशमा उल्लेख गरिएको छ। 

‘रिट निवेदनउपरको सुनुवाइ अन्तिम टुंगो नलागेसम्म प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर निवेदक नवराज सिलवालउपर कुनै पनि प्रकारबाट छानविन गर्ने, निलम्बन गर्ने र कुनै प्रकारको अभियोगमा मुद्दा चलाउनेलगायतका कार्य नगर्नू÷नगराउनू,’ आदेशमा उल्लेख छ। 

हेर्नुहोस् अादेश


 

More form the Internet

loading...