Suvadin, Home

अदालतको आदेश पनि बर्खिलाप
डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि सिलवाललाई प्रहरी प्रधान कार्यालयले नक्सालबाट निकाल्यो। अधिवक्ता शम्भु थापालाई प्रहरीले छोडिदियो। उनी सिधै सर्वोच्च अदालत आए। तर, सिलवाललाई प्रहरीले अदालत लगेन।
डिअाइजी सिलवाल।

काठमाडौं, वैशाख ११ - डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो। 

अदालतको आदेशपछि सिलवाललाई प्रहरी प्रधान कार्यालयले नक्सालबाट निकाल्यो। अधिवक्ता शम्भु थापालाई प्रहरीले छोडिदियो। उनी सिधै सर्वोच्च अदालत आए। 

साँझ साढे पाँच बजेसम्म उनी सर्वोच्चभित्र बसिरहे। उनीलगायत केही कानुन व्यवसायी, पत्रकार, प्रहरीहरू अदालतमा थिए। सिलवाललाई ‘प्रहरीले ल्याउँछ र बुझेर जाउँला’ भनी वरिष्ठ अधिवक्ता थापा बसेका थिए। तर, उनको पर्खाइ फगत रह्यो। 

ठिक त्यतिबेलै प्रधानन्यायाधीश सुशीला कार्की पनि निस्किइन्। त्यसको केही बेरपछि थापा पनि निस्किएका थिए। 

सिलवाललाई सुरूमा अपराह्न ४ बजे मेडिकल जाँच गर्नका लागि भनी अन्नपूर्ण न्युरो अस्पताल लगियो। त्यहाँबाट सर्वोच्च अदालत लैजाने गाइँगुइँ चल्यो। तर, प्रहरीले सिलवाललाई अदालत लगेन। 

अन्नपूर्ण न्युरो अस्पतालबाट सिधै बालकुमारी लग्यो। जहाँ सिलवालको निवास छ। स्रोतका अनुसार सिलवाल अदालत जान खोजेका थिए। तर, प्रहरीले उनलाई अदालत लगेन। 

उनको साथमा दुई डिएसपीको टोली छ। डिएसपी वसन्त रजौरे र रमेश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई कहाँ लगेको भन्नेबारे खुलाइएको छैन। प्रहरी प्रधान कार्यालयले घर छोडिएको बताएको छ, तर उनी पुगेका छैनन्। 

अधिवक्ता थापाका अनुसार सिलवाललाई प्रहरीले घरमा बिहान ल्याएको थियो। सिलवाल अधिवक्तासँग जाने बताएपछि प्रहरीले सिलवाललाई त्यहाँ लगेको थियो। 

सिलवालको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयबाट चिठी बोकेर एसपी विक्रम चन्दको नेतृत्वको टोली घर पुगेको थियो। 

उनलाई एसपी चन्दले प्रधान कार्यालय लैजान खोजेका थिए। तर, आफू जबरजस्ती नजाने भनेपछि सिलवाललाई धरपकड गरिएको थियो। उनकी पत्नी सिर्जनाले रोक्न खोज्दा उनलाई प्रहरीले धकेलेको थियो। 

आफूलाई धरपकड गरिएपछि सिलवालले कानुन व्यवसायीसाथ जाने बताएका थिए। त्यसपछि प्रहरीले सिलवाललाई थापाको घर पुर्यायो। कानुन व्यवसायी थापा ट्राउजर र टिसर्टमै प्रधान कार्यालय गएका थिए। ‘म उहाँको सहयोगका लागि प्रहरीसँग गएँ,’ उनले भने, ‘उहाँसँग वयान लिइयो।’ 

उनले मुद्दाको विषयमा बोलेनन्। तर, अदालतले उपस्थित गराउनू भन्दासमेत कानुन कार्यान्वयन गर्नुपर्ने निकायले अटेर गरेको उनले बताए। ‘यो विधिको शासन र कानुनको अपमान हो, अब यो देशमा कानुनी राज्य छैन भनेर बुझे हुने भयो,’ उनले भने, ‘कसैलाई पनि बिना कसुर जबरजस्ती लगेर राख्ने, वयान गराउन पाइँदैन, अदालतले बुझाउनू भन्दा प्रहरीले नै मान्दैन भने कानुनी शासन कहाँ छ?’ 

उनलाई प्रहरीले कुनै कसुर वा मुद्दा लगाएको थिएन। पक्राउ पूर्जी पनि थिएन। सर्वोच्च अदालतको आदेशविपरीत प्रहरी महानिरीक्षक नियुक्ति भएको भन्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटउपर वैशाख १९ गते पूर्ण इजलासमा अन्तिम सुनुवाइ हुँदैछ। 

रिट दायर गरेको केही दिनपछि उनी बिदामा बसेका थिए। मन्त्रिपरिषद निर्णयको हवाला दिँदै प्रहरी प्रधान कार्यालयले उनलाई समातेको थियो। उनलाई नक्कली कार्यसम्पादन मूल्यांकन बनाएको आरोप लगाइएको थियो। उनलाई दिनभर प्रहरीले त्यही आरोपमा वयान लिएको स्रोतको भनाइ छ। 

स्रोतका अनुसार उनलाई प्रहरीले राखिरहन चाहेको थियो। तर, अदालतले उपस्थित गराउनू र रिहा गराउनू भन्ने आदेश दिएपछि प्रहरीले अदालत नलगिकन बाहिर–बाहिरै डुलाएको थियो। 

उनलाई बन्दी बनाइएको भन्दै अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश कार्कीको इजलासले अदालत उपस्थित गराएर रजिष्ट्रार र वरिष्ठ अधिवक्ता थापाको रोहवरमा रिहा गर्न आदेश दिएको थियो। 

सिलवाललाई साँझ ७ बजेतिर बीएन्डबी अस्पताल लगेको छ। सिलवाललाई बीएन्डबीको आकस्मिक उपचार कक्षमा राखिएको छ। ‘हामीले घर छोडेका छौं,’ प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, ‘अरु कुरा थाहा भएन।’ 

अदालत किन नलगिएको सन्दर्भमा उनले सर्वोच्चको आदेशबारे अनभिज्ञता जनाए। ‘सर्वोच्च अदालतमा के निर्णय भयो, हामीलाई जानकारी छैन,’ उनले भने, ‘हामीले केही कुरा बुझ्न उहाँलाई ल्याएका थियौं, घर छोडिदियौं।’ 

सिलवाललाई समातिएको विषयमा पूर्वप्रहरी महानिरीक्षकहरूले आपत्ति जनाएका छन्। पूर्वप्रहरी महानिरीक्षक रबिन्द्रप्रताप शाहले कुनै सरकारी कागजात कीर्ते हो कि होइन भन्ने विषय
सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा एउटा व्यक्तिविरुद्ध राज्य खनिनु लोकतान्त्रिक सरकारको निम्ति एकदमै अशोभनीय कार्य भएको बताउँदै फेसबुकमा लेखेका छन्। पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा र अच्युतकृष्ण खरेलले पनि सो कार्यको बिरोध गरेका छन्।

यसैबीच, प्रहरी प्रधान कार्यालयले सोधुपुछका लागि उनलाई बोलाइएको र स्वास्थ्य परीक्षण गर्न लगिएको बताएको छ। स्रोतबाट प्राप्त उक्त पत्र वीर अस्पताललाई लेखिएको छ। 


 

More form the Internet

loading...