Suvadin, Home

निर्वाचनका लागि चीनले नौ मिलियन युयान सहयोग गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ। चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए। 
प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच भएको भेटवार्ता। तस्बिर : एजेन्सी

काठमाडौँ, चैत १४ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ। चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए। 

उनका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति सीले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
सो अवसरमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए। 

यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै प्रधानमन्त्रीले नेपाल र नेपाली जनता ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको दाेहाेर्याए। नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरे। 

नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए। दुबै बिच करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ दिए। चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरे। 

नेपाल–चीन बीचको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिए।  

चीनका राष्ट्रपति जिनफिङसँगको छलफल सोचेभन्दा महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालले जवाफ दिएको उनका प्रेस सल्लाहकार आचार्यले बताएका छन्। उनका अनुसार नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैँ नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र नाका खोल्नेजस्ता विषयमा चासोका साथ प्रस्तुत भएका थिए। 

सो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थियो। सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो।


 

More form the Internet

loading...