Suvadin, Home

मजदुर किसान पार्टीको घोषणापत्र
कूल बजेटको आधा स्थानीय तहलाई

नेपाल मजदुर किसान पार्टीले कुल राष्ट्रिय बजेटको आधा हिस्सा स्थानीय तहलाई उपलब्ध गराउने प्रतिवद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ। पार्टीले देशको सन्तुलित विकासका लागि पनि ५० प्रतिशत भन्दाबढि बजेट स्थानीय तहलाई नै उपलब्ध गराउने प्रतिवद्धतासहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे।

काठमाडौं, वैशाख ७- नेपाल मजदुर किसान पार्टीले कुल राष्ट्रिय बजेटको आधा हिस्सा स्थानीय तहलाई उपलब्ध गराउने प्रतिवद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ।

पार्टीले देशको सन्तुलित विकासका लागि पनि ५० प्रतिशत भन्दाबढि बजेट स्थानीय तहलाई नै उपलब्ध गराउने प्रतिवद्धतासहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको स्थानीय तह चुनाव घोषणा पत्रमा देशको सन्तुलित विकासका लागि गाउँपालिकाहरूमै सहरको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।

पार्टीले भूकम्पीय जोखिम न्यूनीकरणलाई पनि उच्च प्राथमिकता दिएको छ। पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ५० प्रतिशत भन्दा बढी बजेट स्थानीय तहलाई नै उपलब्ध गराइए मात्रै जनताले सेवा, सुविधा पाउने भएकाले सोही प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको स्पष्ट पारे। उनले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्ने अडान पार्टीले यस अघि पनि पटक–पटक राख्दै आएको पनि स्मरण गराए।

नेपाल मजदुर किसान पार्टीले भूकम्पीय क्षति कम हुने प्रविधि प्रयोग गरी घर भवन संरचना निर्माण गर्ने र त्यसका लागि आवश्यक डकर्मी र सिकर्मीलाई तालिम दिने पनि चुनावी घोषणा पत्रमार्फत प्रतिवद्धता जनाएको छ। गाउँ÷नगरको सफाईलाई घोषणा पत्रमा उच्च प्राथमिकता दिइएको छ। त्यसैगरी, सहरको जनसंख्याको चापलाई कम गर्न गाउँ पालिकाहरुलाई नै सहरको रुपमा विकास गर्ने घोषणा गरिएको छ। पार्टीले सूचना प्रविधिको माध्यामबाट जनतालाई सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ।

घोषणा पत्रमा पर्यावरणीय सन्तुलनका लागि खुला स्थान, हरित पार्क र मनोरञ्जन स्थलको विकास गर्ने पनि उल्लेख गरिएको छ। नेमकिपाले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन उद्योगको विकास गर्ने प्रतिवद्धता पनि जनाएको छ। जनभावना र भूगोल अनुकूल नभएका स्थानीय तहको सीमा हेरफेर गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमार्फत् व्यक्त गरेको छ।

जनताको चाहना अनुसार भूगोल अनुकूल हुने गरी स्थानीय तहको सीमा हेरफेर गर्नुपर्ने अवस्था रहेकाले त्यसलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिने प्रतिवद्धता पनि घोषणा पत्रमा व्यक्त गर्नु परेको पार्टीका अध्यक्ष बिजुक्छेले बताए। पार्टीले नेपालको सार्वभौमसत्तामाथि भारतीय हस्तक्षेप बढदै गएकाले त्यसलाई रोक्न पार्टीले निरन्तर संघर्ष गर्ने प्रतिवद्धता पनि जनाएको छ। नेपाल मजदुर किसान पार्टीले चुनावका लागि दलीय चुनाव चिन्ह मादल पाएको छ।


 

More form the Internet

loading...