Suvadin, Home

Cover Image

कांग्रेस कार्यालयमा नेविसघंको धर्ना

'दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२औं महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो।' 

काठमाडौं, ९ मंसिर – नेपाल विद्यार्थी संघले १२औं महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ। नेविसंघले ११औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष भन्दा बढी पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो। 

पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसंघका नेता दीपक भट्टराईले बताए। उनले भने, 'दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२औं महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो।' 

नेविसंघका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको बताए। 

नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ। कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ। 

यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुन लागेको कांग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ। 


 

More form the Internet

loading...