Suvadin, Home

Cover Image

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए। सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिदै उनले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताए। टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ।

-रमेश लम्साल

काठमाडौं, २३ पुस – नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गरेका छन्।

सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा सोमबार कर्मचारीले उनको स्वागत गरेका थिए।

पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए। सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिदै उनले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताए। टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ।

टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने संकल्प आफूले लिएको स्पष्ट पार्दै उनले भने, 'सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ। त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु।' ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नतिजामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पारे।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उनले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गरे। यस्तै टेलिकमको विलिङ प्रणालीलाई गुणस्तरीय र विश्वस्तरीय बनाउने, सेवा सुधारमा विशेष ध्यान दिने र सबै कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी दिने अधिकारीले बताए।

आधिकारिक ट्रेड युनियनसँग मिलेर काम गर्ने भन्दै उनले कर्मचारीका अन्य संगठनसँग पनि उत्तिकै भरोसा रहेकाले सबैले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिए।  कूल १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो।

टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर ५५ मुनाफा दिने प्रस्ताव गरेको छ। टेलिकमले सस्तो र भरपर्दो दुरसञ्चार सेवा सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउनाका साथै दूरसंचार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकका रुपमा स्थापित हुने परिकल्पना गरेको छ।

प्रगतिशील संस्थाका रुपमा ग्राहकको हित तथा सेवामा समर्पित रही देशभर भरपर्दो दुरसंचार सेवा उपलब्ध गराइ देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने टेलिकमको अभियान छ। यस्तै देशका शहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन्। शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सधै अग्रस्थानमा रहँदै आएको छ। सो कम्पनीको एकखर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता ७३४ मा खरिद बिक्री हुँदै आएको छ। बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन। रासस


 

More form the Internet

loading...