Suvadin, Home

कुन–कुन जिल्लामा शुरू भयाे मतगणना?

सिन्धुपाल्चाेक, रसुवा, मुस्ताङ, मनाङ, बैतडी, बाजुरा, म्याग्दी लगायतका जिल्लामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।
भक्तपुरस्थित मतदान केन्द्रमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव। तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, मंसिर २१ – पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहीबार साँझ पाँच बजेदेखि मतगणना शुरु भएकाे छ। 

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको हाे। 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो। 

त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो। करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ।

यसैबीच, सिन्धुपाल्चोकमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ।

निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो। जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा छन्। 

रसुवामा पनि पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना शुरु भएको छ। 

जिल्लामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो। जिल्लाबाट प्रतिनिधिसभातर्फ सात जना चुनावी प्रतिष्पर्धामा छन्। म्याग्दीमा पनि आज साँझदेखि मतगणना शुरु भएको छ।

सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ। 

जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


 

More form the Internet

loading...