Suvadin, Home

अन्तरिम संरचना गठन गरेर महाधिवेशनमा जाने तयारीमा कांग्रेस 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्तरिम संरचना तयार गरेर १४ औं महाधिवेशन गर्ने तयारीमा जुटेको छ । आइतबार पार्टी मुख्यालयमा बसेको बैठकबाट भदौ तेस्रो सातासम्म अन्तरिम संरचना गठन गरेर १४ औँ महाधिवेशनमा होमिने सहमति गरेका हुन् । निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ ।  
यसअघि पार्टी संरचना गठन गर्न तदर्थ समिति बनाउने विषय उठेको थियो ।  आगामी २४ भदौबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि कम्तीमा पनि बुथ तहदेखि ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका समिति र तीन सय ३० प्रदेश समितिसम्म गठन हुन सक्ने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।  

‘संशोधित विधानअनुसार निर्वाचनमार्फत अन्तरिम संरचना गठन हुन्छ ।  निर्वाचन समितिसँगको छलफलपछि हामी २४ भदौको जागरण अभियानअघि बुथ, वडा र प्रदेश समितिसम्म गठन गर्ने गरी अघि बढ्छौँ,’ खड्काले भने, ‘त्यसपछि क्रियाशील सदस्यता वितरण गरेर १४औँ महाधिवेशनको कार्यतालिका बनाउँछौँ । ’

नेता रामचन्द्र पौडेलले पनि दोस्रो चरणको अभियानअघि नै कम्तीमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रीय समितिसम्म संरचना गठन गरेर जानुपर्ने बताए ।  ‘१४औँ महाधिवेशन गर्ने विषयले मात्र प्रवेश पाएन, कार्यतालिका बनाएर प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब निर्वाचनबाट वडादेखि क्षेत्रीय समितिसम्म बन्नुपर्छ ।  त्यसपछि तत्काल कार्यतालिका बनाएर १४औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन प्रारम्भ गर्नुपर्छ । ’ 

नेताहरूबीच भएको सहमतिअनुसार महाधिवेशनको कार्यतालिका बनाउँदा सभापति शेरबहादुर देउवाको कार्यकाल स्वतः एक वर्ष थपिएर पाँच वर्ष पुग्नेछ ।  भदौसम्म पार्टी संरचना बनाएर सदस्यता वितरण गरी अधिवेशन गर्न कम्तीमा डेढ वर्ष लाग्ने भएकाले देउवाको कार्यकाल पाँच वर्ष पुर्‍याउन सबै पक्ष अनौपचारिक रूपमा सहमत भएका हुन् ।  विशेष अवस्थामा सभापतिको कार्यकाल एक वर्ष थप गर्न पाउने व्यवस्था विधानले नै गरेको छ ।  देउवाको नियमित कार्यकाल भने आगामी फागुन मसान्तमा सकिँदै छ ।  
 


 

More form the Internet

loading...