Suvadin, Home

राष्ट्रपतिकी छोरी अन्माउने ‘रिहर्सल’ नारायणहिटीमा  

खासमा नेपालमा भिभिआईपी सुरक्षा व्यवस्था मिलाउने निकाय नै यही हो। यसले भिभिआईपीको पहिलो तहको सम्पूर्ण सुरक्षा जिम्मेवारी निभाउँछ। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले तहगत सुरक्षा दिन्छन्। फरक यति हो, यो ब्यारेकले पहिले राजाको सुरक्षा व्यवस्था मिलाउँथ्यो, अहिले राष्ट्रपतिको।
नारायणाहिटी दरबार।

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडाैं, माघ ३


आइतबार साढे २ बजे शम्भु अधिकारी हतारहतार नारायणहिटी दरबारको दक्षिण ढोकाबाट निस्किँदै थिए।

भूकम्पले क्षति पुर्याएको गेटभित्र नेपाली सेनाका व्यवस्थित सवारीसाधनले महेन्द्र मञ्जिलदेखि श्रीसदन वरिपरिको सडकमा चक्कर लगाइरहेका थिए। अक्सर देखिने यो दृश्यबारे अधिकारीले थोरै भने, ‘राष्ट्रपतिज्यूकी छोरीको बिहेका लागि तयारी हो।’ 

नारायणहिटी दरबारको दक्षिण ढोकाबाट भित्र महेन्द्र मञ्जिल छ। राजा स्व. महेन्द्र शाहको निवास हो त्यो। 

महेन्द्रकी श्रीमती पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह त्यो निवासमा बस्छिन्। शम्भु उनका सहयोगी हुन्। 

महेन्द्र मञ्जिलछेऊ राजा स्व. वीरेन्द्रको निवास छ। त्यससँगै जोडिएको एउटा सेनाको ब्यारेक पनि छ। आइतबार त्यही ब्यारेकका सैनिक भिभिआईपी सुरक्षाको ‘रिहर्सल’ गर्दैथिए। अधिकारीका अनुसार दुई–चार दिनयता सेनाले सुरक्षाको ‘रिहर्सल’ गर्न थालेका थिए।

त्यो सुरक्षा अभ्यासमा सहभागी सेनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेका लागि हुन्। भण्डारीले आफ्नी कान्छी छोरी निशाकुशुमलाई सोमबार सितल निवासमा अन्माएकी छिन्। 

पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसँग हुने उक्त बिहेमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, नेता तथा मन्त्रीहरूलाई निम्तो छ। 

नारायणहिटी दरबारभित्रको यो सुरक्षा बल खासमा राजाहरूका लागि राखिएको थियो। भिभिआईपी सुरक्षाको सबै प्रबन्ध अहिले पनि यही ब्यारेकको टोलीले गर्छ। 

राष्ट्रप्रमुख, विदेशी राष्ट्रप्रमुख, उच्च कूटनीतिक निकायका प्रमुखलगायतको भिभिआईपी सुरक्षा प्रबन्ध नारायणहिटी दरबारभित्रकै ब्यारेकले हेर्छ। राजसंस्था रहुञ्जेलसम्म यो ब्यारेकको नाम शाहीरक्षक सैनिक प्रहरी भिभिआईपी सुरक्षा बल थियो। 

मुलुकमा गणतन्त्रात्मक व्यवस्था लागू भएपछि यसको नाम सुरक्षा बल मात्रै छ। केही महिनाअघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा यसैले सुरक्षा प्रबन्ध मिलाएको थियो। 

खासमा नेपालमा भिभिआईपी सुरक्षा व्यवस्था मिलाउने निकाय नै यही हो। यसले भिभिआईपीको पहिलो तहको सम्पूर्ण सुरक्षा जिम्मेवारी निभाउँछ। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले तहगत सुरक्षा दिन्छन्। 

फरक यति हो, यो ब्यारेकले पहिले राजाको सुरक्षा व्यवस्था मिलाउँथ्यो, अहिले राष्ट्रपतिको।

‘यो ब्यारेकले पहिले राजाको सुरक्षा व्यवस्था मिलाउँथ्यो, अहिले राष्ट्रपतिको मिलाउँछ,’ अधिकारीले शुभदिनसँग भने, ‘नेपालमा गणतन्त्र आएपछि ब्यारेक स्थानान्तरण नगरीकन यहीँबाट सितल निवासको सुरक्षा बन्दोबस्त मिलाइराखिएको छ।’ 

यससँगै नेपालको राष्ट्रपतिको सुरक्षा नारायणहिटी दरबारभित्रैबाट हुने गरेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रपतिकी छोरीको बिहेमा खटिने पहिलो तहका सेना नारायणहिटी दरबारभित्रको ब्यारेकका हुन्। 

यो सबै बुझेका अधिकारीले राष्ट्रपतिकी छोरीको बिहेमा खटिने पहिलो तहका सेनाका जवान आवश्यक ‘रिहर्ल्सल’मा जुटेको जानकारी दिए। ‘बिहेमा उच्चपदस्थ व्यक्ति आउने भएकाले यहाँ सेनाले विशेष तालिम गरेको हो,’ अधिकारीले भने।

सैनिक मुख्यालयका अनुसार नारायणहिटीभित्र रहेको त्यो ब्यारेक पहिले राजामातहत थियो, अहिले राष्ट्रपति कार्यालय मातहत छ। ‘त्यो ब्यारेक सेनाको हो तर जंगी अड्डालाई त्यसले के गर्छ भन्ने जानकारी हुँदैन,’ सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले भने, ‘उक्त व्यारेक राष्ट्रपति कार्यालय मातहत छ, सबै क्रियाकलाप राष्ट्रपति कार्यालयकै निर्देशनअनुसार हुन्छ।’ 

नारायणहिटीभित्र रहेको उक्त ब्यारेकमा झन्डै तीन सय सेना छन्। अत्याधुनिक हातहतिसहितका सेनाको नेतृत्व सहायक रथीले गर्छन्।  

बिहे समारोहमा अभिषेक जन्ती लिएर बिहान नौ बजे सितल निवास पुगेका थिए। बिहेका लागि दुलहीझैं सिंगारिएको राष्ट्रपति निवासमा ५१ जना जन्ती पुगेका थिए। 

सामाजिक सुधार ऐन पालना गर्दै थोरै जन्ती लगिएको भनिएको बिहेभोजमा भने पन्ध्र सय पाहुना डाकिएको छ। 

बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेकले सात वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन्। दुलाहा अभिशेककी आमा किरण यादव महोत्तरी निर्वाचनन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद हुन्। 

किरण गणतन्त्र नेपालका पहिलो राष्ट्रपति यादवकी भतिजी हुन्। एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन्। भण्डारीको निधन हुँदा निशाकुशुम पाँच वर्षकी थिइन्।


 

More form the Internet

loading...