Suvadin, Home

विभागमा विवाद कायमै ,अध्यक्षद्वय विदेश भ्रमणमा : सीतासहित दाहाल दुबई, ओली सिंगापुर 

काठमाडौं । नेकपमा विभागका विषयमा चर्को विवाद भइरहेका बेला सत्तरुढ दल नेकपाका अध्यक्षद्वय विदेश उड्‍ने भएका छन् ।  नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ भने दाहाल आज दुबई जाँदै छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली १० दिने सिंगापुर भ्रमणमा जान लागेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । आर्मी अस्पतालमा उनको मिर्गौलाको वायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएको बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको दौड्धुप बढ्दा स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यस्तै, अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि युएईको दुबई प्रस्थान गर्न लागेका हुन् । दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।

पत्नी सीताको उपचारका लागि युएई जान लागेको भनिए पनि दाहालको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दाहालको चार दिने युएई भ्रमणलाई निजी भ्रमण भनिएको छ ।

विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।

नेकपा सचिवालय बैठक दुई सातासम्म स्थगित गरिएको छ ।


 

More form the Internet

loading...