Suvadin, Home

Cover Image

प्रधानमन्त्री ओलीको अक्सफर्डमा समृद्ध नेपाल, सुखी नेपालीको लेक्चर, आज समकक्षी मेसँग भेट गर्ने

लण्डन । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेलुका लण्डन पुगेका छन् । बेलायती प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा तीन दिने औपचारिक भ्रमणका लागि उनी बेलायत पुगेका हुन् ।  स्वीजरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको भ्रमण टोली  सीधै लण्डन पुगेका हुन् । 

बेलायत पुगेको प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,  परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत छन् । 

बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् ।  अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् । 

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे आफ्ना धारणा राखे ।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा कृष्ण अधिकारी बताउँछन् । 

केही वर्षअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थी तथा रिसर्चरहरुले आयोजना गरेका थिए । 

उनले झण्डै पच्चीस मिनेट लामो सम्बोधनमा गरेका थिए । दोस्रो चरणको प्रश्नोत्तर कार्यक्रममा सहभागीले सोधेका विदेश नीति, पार्टी एकता, सरकारको नेतृत्व लगायतका प्रश्नमा उनले जवाफ दिएका थिए । सरकारको नेतृत्व आलोपालो गर्ने प्रचण्डसँगको सहमतिका विषयमा अब पार्टीले नै टुंगो लगाउने उनको भनाइ थियो । 

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने  जिज्ञासामा प्रधानमन्त्रीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने नीति रहेको सुनाए  । देशमा राजनीतिक स्थिरता रहेको वर्तमान अवस्थामा नेपालको विदेश नीति बलियो र परिपक्व रहने उनको तर्क थियो । 

नेपालको पूरानो मित्रराष्ट्र बेलायतको भ्रमणले द्वीपक्षीय हितका दृष्टिले उपलब्धीमुलक बन्ने विश्वास ओलीले व्यक्त गरे । 

भ्रमणको दोस्रो दिन मंगलबार प्रधानमन्त्री ओली दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् ।  बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे तथा विभिन्न पार्टीका सांसदलाई प्रधानमन्त्रीले भेट्ने कार्यक्रम छ । 

मंगलबार नै प्रधानमन्त्री ओलीले १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा समकक्षी टेरिसा मेलाई पनि भेट्दैछन् । दुई प्रधानमन्त्रीबीच २ सय वर्ष भन्दा लामो नेपाल बेलायत सम्बन्ध, भूतपूर्व गोर्खाहरुको समस्या, दुई देशबीचको व्यापार सम्बन्ध, लगानी र सहयोग लगायतका विषयमा छलफल हुने अपेक्षा छ । राजिनामा गरिसकेकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको प्रक्रियामा छिन् । 

प्रधानमन्त्री ओलीले वेस्टमिनिस्टरमा विभिन्न पार्टीबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।  बेलायती अधिकारीहरुलाई भेट्नुअघि बिहान उनले दूतावासमा भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, बेलायतस्थित नेकपानिकट कार्यकर्ता र नेपाली समुदायका प्रतिनिधिलाई भेट्नेछन् । बेलायत भ्रमण सकेर बुधबार प्रधानमन्त्री ओली फ्रान्सतर्फ लाग्ने कार्यक्रम छ । 


 

More form the Internet

loading...