Suvadin, Home

श्रमिक दिवसमा प्रधानमन्त्रीले भने- कसैले पन भोकै बस्‍नुपर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट मजदुर, श्रमजीवीहरूलाई त्राण दिने वचनबद्धता व्यक्त गरेका छन् । १ सय ३१ औं मे दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने बताएका हुन् ।

अवधिको हिसाबले यसवर्ष श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि कोरोना महामारीले असर पारेको प्रधानमन्त्रीले बताएका छन् ।

“८.५ प्रतिशतको आर्थिक वृद्धिको उच्च आकांक्षाका साथ अघि बढेका हामीहरू ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक वृद्धिमा खुम्चिन पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौं । मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ,” प्रधानमन्त्रीले तथ्याङ्क प्रस्तुत गरेका छन् ।

विश्वस्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आकलन भएको प्रधानमन्त्रीको भनाइ छ ।

“सन् १९३० को दशकमा भएको महामन्दीमा काम गर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए । यस महामारी पछिको पहिलो चार महिनामा नै २० औं शताव्दीको त्यस दशकको भन्दा ज्यादा श्रमजीवीहरू बेरोजगार भई सकेका छन् । महामन्दीको त्यस समयमा, सिंगो एक दशकमा कूल गार्हस्थ उत्पादनमा जति संकुचन आएको थियो, यस महामारीको पहिलो चार महिनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी संकुचन आएको छ,” प्रधानमन्त्रीको तर्क छ ।

“घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरूको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ,” उनको प्रतिबद्धता छ ।

अब सरकार स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने प्रधानमन्त्रीले बताएका छन् । भूकम्पपछिको यस दशकलाई सरकारले पुनर्निर्माणको दशक भनेझैं, मुलुकको पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त दिने नै भएको उनले बताएका छन् ।

“यसभन्दा अघिल्ला सम्बोधनहरूमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ । जसरी २० औं शताब्दीको महामन्दीले पुँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थव्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य प¥यो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ,” प्रधानमन्त्रीले भनेका छन् ।

संविधानले ग्यारेन्टी गरेझैं स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माणको लागि शिक्षामा लगानी वृद्धि गरिने प्रधानमन्त्रीको जोड छ । “‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महत्वलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदमहरू निश्चय नै त्यस दिशातर्फ सुदृढ ढंगले उन्मुख हुनेछ । कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने छ ।”

राहत सुविधा अल्पकालीन उपाय मात्रै भएको प्रधानमन्त्रीले बताएका छन् । “सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएकाहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । काममा जो छन्, उनीहरूका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइने छैन । संघ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिने छ,” प्रधानमन्त्रीले थप प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरूले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने सरकारले योजना छ । 

स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने उनले लक्ष्य प्रस्तुत गरेका छन् । विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरू मार्फत सिर्जना भएका कामका अवसरहरू नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने सरकारको योजना रहेको छ ।

“यस सन्दर्भमा हाम्रा श्रमिकहरूमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरूको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरूलाई एकीकृत रुपमा परिचालन गरिने छ । सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याइने छ,” प्रधानमन्त्रीको निष्कर्ष छ ।


 

More form the Internet

loading...