Suvadin, Home

प्रधानमन्त्री ओली आज अरजबैजान जाँदै, भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो।

प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए। भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो। भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले विज्ञप्ति निकालेका थिए ।

नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ। वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन ।

ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्। सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्त्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ। १७ औं शिखर सम्मेलनमा पनि भारतले उपराष्ट्रपति नै पठाएको थियो। यो सम्मेलनमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए।

शिखर सम्मेलनमा ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। नेपालको कूटनीतिक पाटोको मुख्य अंशका रूपमा रहेको असंलग्नताको अपरिहार्यता रहेको भन्दै प्रधानमन्त्री अजरबैजानको बाकु जान लागेका हुन्। ‘असंलग्नताको महत्त्व अहिले झन् बढेको र नेपालजस्ता मुलुकका लागि यसको अपरिहार्यता विशेष छ’, प्रधानमन्त्री ओलीले आइतबार अन्नपूर्णसँग भनेका थिए, ‘पछिल्लो समय विश्व शीतयुद्धमा नभए पनि अनेकन युद्धको त्रास बाँकी रहेकाले पनि असंलग्नता अपरिहार्य आवश्यक छ।’

नेपालको संविधानमा असंलग्नता सिद्धान्तलाई अंगीकार गरिएको छ। शीतयुद्धकालीन अवस्थामा अघि बढेको बाङडुङ सिद्धान्तको अपरिहार्यता अहिले पनि उस्तै रहेको ओलीको धारणा छ।

परराष्ट्रमन्त्री विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भई नेपालको धारणा राखिसकेका छन्। परराष्ट्रसचिव शंकरदास बैरागी जापानबाटै बाकु गएका छन्। असंलग्न मुलुकबीच द्वन्द्व चर्किरहेको विषयलाई नेपालले जोड दिँदै सहकार्य नै विकासको पहिलो कदम भनेको छ।


 

More form the Internet

loading...