Suvadin, Home

भारतको नयाँ नक्साबारे जानकारी दिन प्रधानमन्त्री ओली संसदीय समितिमा उपस्थित हुँदै

काठमाडौं । भारतले हाल सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी परेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मालाई बोलाएको छ।

सोमबार बिहान साढे ११ बजे बस्ने बैठकमा समितिले प्रधानमन्त्री ओलीसँग सीमा विवाद समाधानका लागि भएका समस्या समाधानबारे जानकारी लिन लागेको हो। 

समितिकी सभापति शशी श्रेष्ठले भनिन्, ‘हामीले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाएका छौँ। उहाँ समितिमा आउन सकारात्मक जवाफ दिनुभएको छ।’

भारतले सीमा अतिक्रमण गरेपछि देश भर विरोध भइरहेका बेला संसदीय समितिले पनि त्यसबारे चासो दिँदै समस्या साधानका लागि प्रधानमन्त्रीलाई नै बोलाएर छलफल गर्न लागेको हो।

यदि प्रधानमन्त्री ओली राज्य समितिमा गए भने पदमा बहाल रहेको २० महिनापछि पहिलोपटक संसदीय समितिमा उपस्थित हुनेछन्। यसअघि सुनुवाई समितिले उनलाई बोलाउने निर्णय गरे पनि उपस्थित गराउन सकेको थिएन।

यसअघि बिहीबार ओली आफैले सीमा विवादबारे छलफल गर्न पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसहितको सर्वदलीय बैठक राखेका थिए।

बैठकले भातरले सार्वजनिक गरेको नक्साबाट नेपालको भूमि अतिक्रमण भएको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि प्रधानमन्त्रीलाई कुटनीतिक र राजनीतिक प्रयास गर्न सुझाव दिएको थियो।

त्यस्तै संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सीमा विवादबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएको छ। बिहान साढे ११ बजे नै बस्ने बैठकमा विवादित सीमाबारे छलफल हुने समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।


 

More form the Internet

loading...