Suvadin, Home

प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

डिआइजी जयबहादुर चन्दले डिएसपी, इन्स्पेक्टरकै नेतृत्वमा प्रधानन्यायाधीश सुशीला काार्कीसहित न्यायाधीशको सुराकी खटाएका छन्। सरकारले आइजिपीमा बढुवा सिफारिस गरेको चार घन्टा नपुग्दै सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशले पदबहालीबाट रोकिएका चन्दले प्रधानन्यायाधीश सुशीला कार्कीको घरैसम्म सादा पोशाकमा प्रहरी खटाएको खुल्न आएको हो।

काठमाडौं, फागुन २८- कुनै समय आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा बाधक हुनेहरूविरुद्ध लोकमानसिंह कार्कीले सादा पोशाकका प्रहरी परिचालन गरेर सूचना संकलन गर्ने, पिछा गर्न लगाउने र तर्साउनेलगायत कार्य गर्थे। सोही क्रममा कार्कीले प्रधानन्यायाधीश सुशीला कार्की, अधिवक्ता ओमप्रकाश अर्याल, शम्भु थापा, सांसदहरू धनराज गुरुङ, गगन थापालगायत व्यक्तिहरूको पछाडि सादा पोशाकका प्रहरी परिचालन गर्थे। 

उनको अभियानमा साथ दिन्थे तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालले। ‘अति गरे खति हुन्छ’ भनेझैं सर्वोच्च अदालतको फैसलाअनुसार उनै लोकमान अयोग्यता पहिरिएर सर्वोच्चबाट बर्खास्तमा परे। विदेश पलायन भएका कार्की हाल क्यानाडामा बसोबास गरिरहेका छन्। 

त्यस्तै झझल्को दिनेगरी नेपाल प्रहरीका डिआइजी जयबहादुर चन्दले प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू जगदीश शर्मा पौडेल, हरिकृष्ण कार्की, तेजबहादुर केसी, सपना मल्ल प्रधान, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको गतिविधि बुझ्न सुराकी परिचालन गरेको खबर छ। 

सर्वोच्च स्रोतबाट आएको सूचनाअनुसार चन्दले डिएसपी, इन्स्पेक्टरकै नेतृत्वमा न्यायाधीशको सुराकीमा खटाएका हुन्। सरकारले आइजिपीमा बढुवा सिफारिस गरेको चार घन्टा नपुग्दै सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशले पदबहालीबाट रोकिएका विवादास्पद डिआइजी चन्दले प्रधानन्यायाधीश सुशीला कार्कीको घरैसम्म सादा पोशाकमा प्रहरी खटाएको खुल्न आएको हो। 

उच्च स्रोतका अनुसार चन्दको निर्देशनमा सर्वोच्च अदालत सुरक्षा इकाइका डिएसपी नेत्रमणि गिरीले प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरुविरुद्ध सूचना संकलनका लागि सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षकद्वय पूर्ण विक, हरि कोइराला र घुमुवा प्रहरी जवान वीरेन्द्र बमलगायतलाई परिचालन गरेका छन्। 

चन्दको निर्देशनमा डिएसपी गिरीले मास्कधारी प्रहरीहरूलाई अदालत परिसरमा सहजै प्रवेश गर्ने व्यवस्था मिलाएको अदालत स्रोत बताउँछ। उक्त मास्कधारी प्रहरी टोलीको नेतृत्व लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत इन्सपेक्टर अनिल ठकुरीले गर्ने गरेका छन्। विशेष गरी उपत्यकाका विभिन्न युनिटमा कार्यरत सुदूरपश्चिमबासी प्रहरी जवान तथा अधिकृतहरू सुराकीमा खटाइएका छन्। 

प्रत्यक्षदर्शीका अनुसार महानगरीय प्रहरी वृत्त बालाजुमा सादा पोशाकमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत रहेका डिआइजी चन्दका अंगरक्षक प्रहरी जवान रमेश जोशीसमेत सर्वोच्च अदालतको सुराकीमा खटाइएका छन्। 

‘डिएसपी नेत्रमणि गिरीको गोप्य निर्देशनअनुसार प्रधानन्यायाधीश र न्यायाधीशहरूको सुरक्षामा खटिएका प्रहरीहरूलाई माननीय श्रीमानहरूको दैनिक गतिविधिको निगरानीमा खटाएको तर अदालत प्रशासनलाई यसको हेक्का नहुँदा उनीहरूलाई सुराकी गर्न सजिलो भएको छ,’ नाम नछाप्ने सर्तमा सर्वोच्च अदालत सुरक्षा इकाइमा कार्यरत एक प्रहरी सहायक निरीक्षकले भने। 

बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमा समेत चन्दका सुराकी खटिएका छन्। प्रत्यक्षदर्शीका अनुसार विगत तीन हप्तायता  प्रधानन्यायाधीश निवास वरपर मास्क लगाएका सादा पोशाकका प्रहरीहरूको बाक्लो उपस्थिति देखिन्छ। स्रोतका अनुसार उक्त टोलीको परिचालन लागुऔषध नियन्त्रण ब्युरोका डिएसपी अपिलराज बोहरा, इन्स्पेक्टरद्वय सुरेन्द्र चन्द र कृष्णगोपाल पनेरु लगायतले गर्ने गरेका छन् भने प्रहरी मुख्यालयका डिएसपी भूपेन्द्र खत्री र इन्स्पेक्टर सञ्जय तिमिल्सिनाको समूहले नेपाल टेलिकमका केही अधिकारीहरूलाई प्रभावमा पारेर अनधिकृत तरिकाले प्रधानन्यायाधीश र न्यायाधीशहरूको कल डिटेल निकालेर सुराकी गर्दै आएको प्रहरी मुख्यालय स्रोतको दाबी छ। 

सर्वोच्च अदालतले तीनपटक चन्दको महानिरीक्षक पदवहाली नगर्न आदेश दिएको छ। अदालतले पछिल्लोपटक गरेको आदेश उनको प्रतिकूल देखिएको छ। ‘न्यायाधीशहरूकहाँ को नजिक छन्, कस–कससँग भेट्छन् र भेट्नेहरूको माध्यमबाट मुद्दा प्रभावित पार्न सकिन्छ कि भन्ने उद्देश्यले सुराकी परिचालन गरिएको छ,’ स्रोतले भन्यो। 

नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर अभद्र व्यवहार गरेयता सर्वोच्च अदालत प्रशासनले असम्बन्धित व्यक्तिहरूलाई अदालत प्रवेशमा कडाइ गर्दै आएको छ। यतिसम्म कि समाचार संकलनका लागि कहिलेकाहीँ सर्वोच्च अदालत पुग्ने सञ्चारकर्मीहरू समेतलाई सर्वोच्च अदालतको पास नभएको भन्दै त्यहाँको सुरक्षामा खटिएको प्रहरीले अदालत परिसरभित्र प्रवेश गर्नसमेत दिँदैनन्। तर, आइजिपी विवादको रिटको सुनुवाइको दिन दर्जनौंको संख्यामा मुखमा कालो माक्स लगाएका सादा पोशाकका प्रहरीहरू सर्वोच्च अदालत परिसरमा बसिरहेका देखिन्छन्। 

पेशीको दिन उनीहरू दिनभर सर्वोच्च परिसरको पार्किङमा राखिएका सरकारी बसभित्र बसेर सुराकीको काम गर्ने गर्दछन्। कुन न्यायाधीश कता गए? प्रधानन्यायाधीशलाई भेट्न को–को आए? पत्रकार का–ेको आए? कुन वकिलले कसलाई भेट्यो? अदालतका सम्पूर्ण कुराको सुराकीको लागि दर्जनौंको संख्यामा सादा पोशाकका प्रहरी खटिँदासमेत सर्वोच्च अदालत प्रशासनले हालसम्म कुनै हेक्का पाउन सकेको छैन। 

त्यसो त डिआइजी चन्दले सर्वोच्च अदालतमा कार्यरत आफूनिकटका केही कर्मचारीहरूलाई परिचालन गरेर प्रधानन्यायाधीश सुशीला कार्कीको सुराकीका लागि खटाएका थिए। चन्दको निर्देशनमा प्रधानन्यायाधीशविरुद्ध विभिन्न हर्कत गरेको भन्दै सर्वोच्च अदालत प्रशासनले उपसचिव गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरअन्तर्गतको धनकुटा इजलासमा काज सरुवा गरिसकेको छ।

सरकारले डिआइजी चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले गत फागुन २ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ। उक्त मुद्दामा न्यायाधीशहरू हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले अन्तरिम आदेशलाई कायम राख्ने निर्णय गरेको थियो। उक्त रिटमा यही चैत ३ गतेबाट अन्तिम सुनुवाइ सुरू हुने भएको छ। 

यो पनि हेर्नुहोस् 

शंकाको घेरामा ‘अपरेसन स्युडो’
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा


 

More form the Internet

loading...