Suvadin, Home

प्रचण्ड अथवा बाबुरामलाई प्रधानमन्त्री बनाउन भारतको कसरत !
उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

काठमाडौं । लामो समयको रस्साकस्सीपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भयो र समाजवादी पार्टी नेपालको गठन भयो । प्रदेश २ को सत्तारुढ दल र केन्द्रमा पनि सत्ता साझेदार बनेको उपेन्द्र नेतृत्वको पार्टीसँगको एकतापछि एक सिटे नयाँ शक्ति नेपालका संयोजक भट्टराई पनि सत्तारुढ दलका सांसद बने । 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा नै एकताको हल्ला चले पनि एकता सम्भव भएको थिएन । चुनावमा विजयी भइसकेपछि राजपा र फोरमबीचको एकताको चर्चा चल्यो । उक्त चर्चाकामाझ एकाएक उपेन्द्र र बाबुरामको पार्टी एकताकव घोषणा गरियो । नेपाली राजनीतिमा नयाँ तरंग पैदा भयो । संसदमा अहिले पनि बाबुराम प्रतिपक्षीको सिटमा बस्छन् भने उपेन्द्र सत्तारुढ दलको सिटमा बस्छन् । 

संविधान संशोधनको मुद्दासहित सरकारमा प्रवेश गरेको तत्कालिन संघीय सामाजवादी फोरमका अध्यक्ष यादव अहिले उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । तत्कालिन फोरमबाट दुई जना मन्त्री छन् । सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै पहल गरेको छैन । बाबुरामसँग एकतापछि संविधान संशोधनको मुद्दा जोडतोडका साथ उठाए पनि फेरि सेलाएको छ । 

राजपाले पनि एकता प्रस्ताव राखेर र समाजवादी फोरमले त्यसलाई सकारात्मक रुपमा लिइएको बताइएको छ । राजपाले पनि एकताका लागि पहिलो शर्त सरकार छोड्‍नुपर्ने शर्त राखेको छ । 

प्रधानमन्त्री केपीशर्मा ओलीले एकाएक विखण्डनकारी भनिएका सिके राउत समूहलाई राजनीतिक मूलधारमा ल्याउने निर्णय गरेसँगै आत्तिएका मधेसीवादी दलमा एकताको भूत सवार भएको देखिन्छ । पटक-पटक फुट्‍ने र जुट्‍ने गरेका मधेसवादी दलहरु फेरि नजिक हुन खोजेका छन् । यस विषयमा समाजवादी फोरमका अध्यक्ष उपेन्द् यादवको निर्णयले महत्वपूर्ण भूमिका खेल्न‍ेछ । 

दुवै पार्टीबीच पार्टी एकताका लागि समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यादवले पार्टी एकताका लागि सबैभन्दा पहिले राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरसँग काठमाडौंमा भेटवार्ता गरेर पार्टी एकताका लागि पहल गरेका छन् । त्यसपछि समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले हालसम्म राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोसँग तीन पटक भेट गरेर कुराकानी गरिसकेको जनाइएको छ ।

श्रेष्ठले काठमाडौंस्थित महतोको निवासमा गएर वार्ताका लागि कुराकानी गरेका छन् । स्रोतका अनुसार भेटवार्तामा महतोले पार्टी एकताका लागि समाजवादी पार्टीले सबैभन्दा पहिले संघीय सरकारबाट हट्नुपर्ने प्रस्ताव अगाडि बढाएका छन् । त्यसपछि समाजवादी पार्टीका अध्यक्ष यादवले राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवसँग पनि छुट्टै भेटवार्ता गरेका छन् । राजकिशोर यादवले दुवै पार्टीबीच सिद्धान्त र नीति समेत नमिलेकाले पार्टी एकतामा समस्या हुने भनेर यादवलाई प्रष्ट जवाफ दिएका छन् । 

एकताका लागि राजपाले समाजवादीसमक्ष ५ वटा शर्त राखेको छ । पहिलो शर्त हो - कार्यकारी अधिकार सहितको अध्यक्ष राजपाका नेता महन्थ ठाकुरलाई दिनुपर्ने । समाजवादी पार्टीमा अहिले उपेन्द्र यादव कार्यकारी अध्यक्ष छन् । दोस्रो – राजपाका बाँकी अध्यक्ष मण्डलका सदस्यलाई सम्मानजनक स्थान दिनुपर्ने । तेस्रो – २ नम्बर प्रदेशको मुख्यमन्त्री राजपालाई दिनुपर्ने । अहिले प्रदेशमा राजपा र समाजवादी पार्टीको गठबन्धनकै साझा सरकार रहेपनि मुख्यमन्त्री भने समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउत छन् ।

चौथो – समाजवादी पार्टीले आफ्नो सिद्धान्तमा राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई हटाउनुपर्ने । बहुदलीय संसदीय व्यवस्था सहितको प्रणाली नै हुनुपर्ने राजपा नेपालको प्रष्ट अडान रहेको छ । पाँचौं – २ नम्बर प्रदेशसहित प्रदेश नम्बर ५ र ७ मा समेत प्रदेश कमिटीको अध्यक्ष राजपालाई नै दिनुपर्ने राजपाको शर्त छ । यी ५ वटै माग राजपा नेपालले समाजवादी पार्टीसमक्ष अनौपचारिक रुपमा राखेको छ ।

भारतमा नरेन्द्र मोदी दोस्रो पटक  प्रधानमन्त्रीको रुपमा निर्वाचित भएर आएसँगै एकताको चर्चा एकाएक शिखरमा पुगेको हो । उता नेकपा पनि विवाद चुलिएको छ । केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्‍जिवसिं पुरीले राजपाका अध्यक्ष मण्डलका सदस्यहरुलाई दूतावासमा बोलाएर खाजा खाना खुवाउँदै मोदीको सन्देश सुनाएका थिए । 

भारतले प्रधानमन्त्री ओलीलाई 'फेलियर' गराएर कांग्रेसको आडमा मधेसवादी दलहरुको सहयोगमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका सल्लाहाकार अध्यक्ष बाबुराम भट्टराईमध्ये एक जनालाई प्रधानमन्त्री बनाउन चाहान्छ । 

नेपालको संविधान अनुसार दुई वर्षसम्म अल्पमतको भए पनि सरकार चलाउने म्यान्डेट वर्तमान सरकारलाई छ । तर, ओलीलाई नैतिक रुपमा च्यूत भएको देखाउन भारतले यस्तो गोटी चालेको श्रोतले जनाएको छ । आगामी एक वर्षभित्रै नेपालमा सत्ता परिवर्तनमा नयाँ आयाम आउने श्रोतको दाबी छ । 

सरकारमा समेत रहेकाले समाजवादी पार्टीका अध्यक्ष यादवलाई सरकार छाड्न पार्टी भित्रबाट पनि दबाब बढिरहेको छ । तर, यादव भने तत्काल नेकपाको साथ छोडी हाल्‍ने परिस्थितिमा भने छैनन् । 


 

More form the Internet

loading...