Suvadin, Home

प्रधानमन्त्री देउवा र माअोवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, राष्ट्र सभा र राजनीतिक अवस्थाकाे बारेमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 
प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्ड।

काठमाडौं, १८ पुस – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उनले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन्। 

उक्त अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताएका छन्। 

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ। 

यसैबीच, पछिल्लाे राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा अाेली र प्रचण्डबीच मंगलबार नभए बुधबार विहान भेटहुने श्रोतले जनाएकाे छ।


 

More form the Internet

loading...