Suvadin, Home

मेयरको चुनावी मैदानमा प्रकाश पौडेल
‘कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरण मेरो एजेन्डा’

विराटनगर उप–महानगरपालिकाको प्रमुख भएर राजनीति समेत गरिसकेका पौडेल उत्पादनमा पहुँच बृद्धि गर्नुपर्छ भन्ने उद्देश्यसाथ दुई वर्षअघि घर फर्केका थिए। बाख्रापालनमार्फत उनले कृषि पेशा अंगालेर उत्पादन बृद्धिका साथै राजनीति पनि गर्न सकिन्छ भन्ने सन्देश सञ्चार गरेका छन्। ‘म आफैं कृषि पेशामा रहेको व्यक्ति भएका कारण मैले किसानको समस्या नजिकबाट देखेको छु,’ उनी भन्छन्।
मेयर पदका उम्मेदवार प्रकाश पाैडेल।

शुभदिन संवाददाता सिजुवा (मोरङ), वैशााख ५ - प्रमुख सत्तापक्ष नेकपा माओवादी केन्द्रले मोरङको रतुवामाई नगरपालिकामा मेयरको उम्मेदवारी निश्चित गरेको छ। सिजुवा साबिक–७ (हाल ६)का युवा नेता प्रकाश पौडेललाई केन्द्रले मेयर पदका लागि उम्मेदवार निश्चित गरेको हो।

सिजुवा, इटहरा, झुर्किया, महादेवा, गोविन्दपुर र बरडंगासमेत रहेको यस नगरपालिका मोरङको ग्रामीण भेग समेटेको क्षेत्र हो। कृषि क्षेत्रले धानेको यो क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसले भने उम्मेदवार निश्चित गरिसकेका छैनन्।
एमालेबाट विश्वनाथ राय, रुपनारायण मिश्र, मेघराज कट्टेल र डिबी कार्कीको नाम चर्चामा छ। कांग्रेसमा नागेश्वर सिंह र खड्ग चोङबाङको नाममा चर्चामा छ।

उम्मेदवारी निश्चित भएपछि पौडेल चुनावी कार्यक्रम लिएर घरदैलो थालेका छन्। बीस वर्षपछि हुन लागेको स्थानीय तहको चुनावबाट जनता निकै उत्साहित रहेको प्रतिक्रिया उनले पाएका छन्।

३७ वर्षीय पौडेल अहिले पार्टीमा सोही नगरपालिकाको इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य छन्। यसअघि उनी क्षेत्र नम्बर १ को क्षेत्रीय इञ्चार्ज थिए।

वैज्ञानिक वन व्यवस्थापनका अध्यक्ष, साझेदारी वन उपभोक्ता समिति पथरी, शनिश्चरेको अध्यक्ष तथा केन्द्रीय सदस्य रहेर जनताको जनजीविकाका सवालमा कार्य गर्दै आएका उनले मुख्य रुपमा कृषि क्षेत्रको विकासलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन्।

‘कृषि क्षेत्रको वैज्ञानिकरण, व्यावसायिकरण, अनुदान, सिँचाइ मेरो मुख्य चुनावी एजेन्डा हो,’ पौडेलले भने। धान खेतीले कहलिएको यो क्षेत्रमा कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको उनले देखेका छन्।

यस क्षेत्रमा प्रविधिमा जनताको पहुँच विस्तार उनको अर्को एजेन्डा हो। कृषि क्षेत्रलाई प्रविधिसँग जोडेर विकास सम्भव हुने उनले देखेका छन्। ‘यो नगरपालिकामा बजार व्यवस्थापन राम्रो छैन,’ उनले भने, ‘बजार व्यवस्थापनका लागि तत्कालै पहल थाल्छु।’

ग्रामीण भेगको अर्को समस्या भनेको वैदेशिक रोजगारी हो। बिपन्न वर्गका नागरिकका छोराछोरीहरू युवा उमेर भएपछि विदेशिने गरेका छन्। जसका कारण कृषिमा आवश्यक जनशक्ति विदेशिने गरेको छ। कृषिमा जनशक्ति अभाव भएर उर्बरभूमिमा व्यापारीको आँखा लागेको छ। कृषिको उर्बरतालाई जोगाउन पनि यस क्षेत्रमा युवा स्वरोजगारको कार्यक्रम अत्यावश्यक रहेको पौडेल बताउँछन्।

‘कृषिमै आधारित भएर यहाँ कार्यक्रम सञ्चालन गर्ने हो भने युवाहरू विदेश जानै पर्दैन, आवश्यक सिप, दक्षता बृद्धिका लागि कार्यहरू गर्नुपर्ने छ,’ उनी भन्छन्।

विराटनगर उप–महानगरपालिकाको प्रमुख भएर राजनीति समेत गरिसकेका पौडेल उत्पादनमा पहुँच बृद्धि गर्नुपर्छ भन्ने उद्देश्यसाथ दुई वर्षअघि घर फर्केका थिए। बाख्रापालनमार्फत उनले कृषि पेशा अंगालेर उत्पादन बृद्धिका साथै राजनीति पनि गर्न सकिन्छ भन्ने सन्देश सञ्चार गरेका छन्।

‘म आफैं कृषि पेशामा रहेको व्यक्ति भएका कारण मैले किसानको समस्या नजिकबाट देखेको छु,’ उनी भन्छन्।

चुनावी अभियानका क्रममा जनताले युवा उम्मेदवार चाहेको उनले बुझेका छन्। क्षमतावान युवा उम्मेदवारलाई जिताए मुलुकमा जारी अस्थिरता, संक्रमणको अन्त्य, अधिकारको प्रत्याभूति हुने विश्वास जनताको रहेको उनले बताए।

सौंठा उच्च माविमा पढ्दापढ्दै २०४६ सालमा नेविसंघबाट राजनीति थालेका उनी २०५६ सालबाट माओवादीमा प्रवेश गरे। द्वन्द्वरत पार्टीको विद्यार्थी फाँटको जिम्मेवारी उनले बहन गरेका थिए।
द्वन्द्वकै क्रममा २०६२ सालमा उनी दुई महिना बेपत्ता पारिए। उनलाई दुई महिनासम्म सेनाले सैन्य हिरासतमा बन्दी बनाएको थियो।

अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै २०६४ सालबाट पार्टी राजनीतिमा उनी सक्रिय भएका हुन्। उनी पार्टी राजनीतिमा कुशल तथा इमानदार छवि बनाएका व्यक्ति मानिन्छन्। पार्टीमै विराटनगरको सहरिया जिन्दगीमा रमाइरहेका अन्य नेता–कार्यकर्तालाई छोडेर उनी कृषि उत्पादकत्व बृद्धिको अभियान लिएर गाउँ फर्किए, कृषिमा आत्मनिर्भर बन्न थाले। त्यसैले उनले सिजुवा क्षेत्रमा लोकप्रिय नेताको पहिचान बनाएका छन्। ‘मेरो जित्ने आधार भनेको यही नै हो,’ पौडेलले सुनाए। यही नगरपालिकाबाट माअोवादी केन्द्रले उपमेयरमा भने टुंगो लगाएको छैन।


 

More form the Internet

loading...