Suvadin, Home

धरहरा जतिसक्दो चाडो निर्माण हुन्छः प्रधानमन्त्री अोली

वि.सं. २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौं महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उक्त कुरा बताएको हो।

काठमाडौं, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। 

वि.सं. २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौं महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उक्त कुरा बताएको हो। 

प्रधानमन्त्री ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गरेका छन्। 

प्रधानमन्त्री ओलीले भने, 'हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ।'

आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आएको उल्लेख गरेका छन्। उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका भत्किएका घरको पुनःनिर्माणसँगै पुराना घरसमेत भत्काउनुपर्ने आवश्यकता औँल्याएका छन्। 

कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो। २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण ३१ जिल्लामध्ये १४ जिल्ला अतिप्रभावित बनेका थिए। 

वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो र २२ हजार ३ सय ९ घाइते भएका थिए। भूकम्पका कारण करीब रु ७ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो। 


 

More form the Internet

loading...