Suvadin, Home

मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, सबैलार्इ चेतना भया!

आधुनिक नेपाल निर्माणका सूत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा नदिएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन चाैतर्फी  माग गरिए पनि सरकारले नदिएपछि फेसबुक, ट्वीटर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल आक्रोशले भरिएका हुन्।
पृथ्वीनारायण शाह।

काठमाडौं, पुस २७


आधुनिक नेपाल निर्माणका सूत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा नदिएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन चाैतर्फी  माग गरिए पनि सरकारले नदिएपछि फेसबुक, ट्वीटर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल आक्रोशले भरिएका हुन्।

वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले साना-साना राज्यको एकीकरण गरी आधुनिक नेपालको चित्र कोरेका थिए। बाइसे-चौबिसे राज्यलाई एकीकरण गरी विशाल नेपाल निर्माण गरेका शाहलाई राष्ट्रनिर्माता मानिन्छ।

नेपालमा वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्र आयो। नेपाल संघीय गणतन्त्र भएपछि राजसंस्था रहँदा पुस २७ मनाउँदै आइएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गणतान्त्रिक सरकारले कटाैती गरेको थियो।

मुलुक संघीयताको सीमांकनले तनावमय रहेका बखत यसपालि राष्ट्रिय एकता, अखण्डता र मेलमिलाप अामनागरिकमा देखिएको छ। त्यसैले यसपालि राष्ट्रनिर्माता शाहको स्मरण गर्दै अामनागरिकले सार्वजनिक विदा माग गरिरहेका थिए।

पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक विदा नदिएपछि आमनागरिकमा आक्रोश देखिएको हो। सामाजिक सञ्जालहरुमा सर्वसाधारणदेखि ‘हार्इ प्रोफाइल’ व्यक्तिले सरकारले पृथ्वीनारायण शाहको योगदानको कदर गर्न नसकेको टिप्पणी गरेका छन्।

मुलुकको एकीकरण गर्ने अभिभावकको अवमूल्यन गर्नु कुनै कोणबाट न्यायसंगत नहुने उनीहरुले बताएका छन्। नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार गर्ने राष्ट्रपिताको सम्मान गर्न गणतान्त्रिक सरकारलाई आफ्नो विचारमार्फत सुझाएका छन्।

साहित्यकार अमर न्यौपानेले लेखेका छन्,

‘पृथ्वीनारायण शाह नभएको भए आजको नेपाल हुने थिएन। उनका केही कमजोरी उनकै शक्ति र योगदानका छायाँ हुन्। राष्ट्रनिर्माताप्रति हार्दिक सम्मान !’

कवि सीमा आभाषको टिप्पणी छ,

‘हामीले पढेअनुसार पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई गाभेर सिङ्गो नेपाल बनाए। अहिले लोकतन्त्रमा उदाएका राजाहरु पृथ्वी जयन्ती मनाउने–नमनाउने दोधारमा छन्। यिनीहरुले पृथ्वीनारायणको मुल्याङ्कन झन्डै अढाई सय वर्षपछि यसरी गर्दै छन् भने यिनको मुल्याङ्कन भविश्यले कसरी र कति समयपछि गर्ला?’

सञ्चारकर्मी सबिना कार्कीले तर्कपूर्ण टिप्पणी छ,

‘शालिक तोडफोड गरेर मुलुक बन्ने भए, राष्ट्रपिताको स्मृतिमा बिदा नदिएर जनताको मनमा रहेको अमिट छाप मेटिने भए, पृथ्वीनारायणलाई सधैं सम्झना।

सटिक व्यंग्यकार सन्तोष चिमरियाले चिन्तन छ,
 

सबै कुरा नरभुपालका छोराले गरे तिमी चाहिँ के गर्छौ बा? बहादुर शाहका ठुल्दाईले बिएम्डब्लु र बोइङ्को स्थापना गर्दिएनन् र हाम्ले जहाज र गाडी निर्यात गरेर पोइसो कमाउन पाइएन भन्ने तिम्रो आग्रह सुन्दा, मलाई सिंहदरबार अगाडिको प्रताबसिंह शाहका बाउको शालिकै बेहोस् होला भन्ने पीर छ। रणबहादुर शाहका हजुरबाउ जम्मा ५२ वर्ष बाँचेका रहेछन्। यो आयुमा उनले गर्न सक्ने जे हो त्योभन्दा धेरै गरेर गए। उनको चिहान अगाडि सत्तोसराप गर्न पुग्नुभन्दा तिमी पनि केही गर। हिजो कौशल्यादेवीका छोरा चुकेको ठाउँले आज तिम्रै नेतृत्व पर्खिरहेको छ। इन्द्रकुमारी देवी, नरेन्द्रराज्य लक्ष्मीदेवी, इच्छादेवी र दयावती देवीका श्रीमानलाई बहुविवाहको मुद्दामा नतान र उनले छेलोखेलो पेट्रोल उत्खनन् गरेर औंठाछाप डुकुलठक खाडीका अरबेले जस्तो पञ्चिङ गरेका भरमा जागिर पाइन पनि नभन। हेर, इतिहास सराप्ने उधोमुखि पुस्ता पुग्ने भनेको फेरि पनि इतिहास मै हो। त्यसैले उभो हेर बा। भविष्य हेर। गीर्वाण युद्धका कुप्राबुबाको नेतृत्वमा चर्चेको भूगोलमाििथ बाटो बनाउ, रेल गुडाउ, ड्याम र नहर बनाउ अनि सिञ्चाई गर। विद्युत उत्पादन गर। र, झिलिमिली बनाउ। स्वीट्जरल्याण्डका बकम्फुसे गफ दिएर इतिहास मात्रै नसराप। नत्र तिम्रो चिहान उधिनेर तिम्रा सन्ततिले तिमीलाई पनि उसै गरी सराप्ने छन्।
चेतना भया कि नाई ?

पत्रकार प्रशान्त अर्यालले भनेका छन्,

‘राष्ट्रनिर्माताको सम्मान गर्नु भनेको राजतन्त्रवादी हुनु होइन। पृथ्विनारायण शाह, अमर रहुन्।’

लेखक तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षित लेख्छन्,

‘पृथ्वीनारायणको महत्व कसरी नकार्ने? आधुनिक काल (२००७ पश्चात) मा सार्वभौमिकतालाई आर्थिक उन्नतिको लागि प्रयोग गर्न नसकेको उनले होइन हामीले हो।’
 
राप्रपा अध्यक्ष कमल थापाले लेखेका छन्,
 

‘आज पृथ्वी जयन्ती गर्वले भन्छु, म नेपाली हुँ, मेरा सन्ततिहरु सधैं नेपाली भएर बाँच्न पाउन्। राष्ट्रनिर्माता पृथ्वीनारायणमा सादर आभार, हार्दिक नमन।
 
भाषाविज्ञ केदार शर्माले भनेको छन्,

देशलाई साँचो माया गर्नेहरू निर्भीक र सङ्कल्पित हुन्छन्। उनीहरूमा देश बच्ला नबच्ला भन्ने चिन्ता होइन, देश बचाउने र बनाउने प्रतिवद्धता हुन्छ।
 

पत्रकार पर्शुराम काफ्लेले लेखेका छन्, 

‘राष्ट्रनिर्माताको अपमान गर्ने ‘आपराधिक पृष्ठभूमि’का मानिसहरुलाई नेता मान्नुपर्ने अवस्थाबाट मुक्ति नमिलेसम्म यो देशको भलो हुँदैन। चेतना भया।’

संविधानविद् निलाम्बर आचार्य लेख्छन्,

‘आज पृथ्वी जयन्तीः श्रद्धासाथ सम्झिनुपर्ने नाम र मनाउनु पर्ने दिन। राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना। राष्ट्रहितलाई सर्वोपरि राख्न सकौँ !’
 
पत्रकार प्रकाश तिम्सिनाको बुझाइ यस्तो छ,

हिजोका पृथ्वीनारायणः जोडेर मात्रै एकता हुन्छ।
आजका प्रचण्डः विभाजन गरेर मात्रै एकता हुन्छ। 
पृथ्वीनारायणलाई श्रद्धासुमन।  

र, विद्यार्थी अनिल विष्टको टिप्पणी छ, 

सबै बादशाह एक पटक हत्यारा हुन्छ। पृथ्वीजयन्तीको हार्दिक शुभकामना।

शाहको दिव्य उपदेशमा खोजी गरी प्रकाशित गरिएको छ। त्यसबेला बोलिने र लेखिने लवजमै रहेको दिव्य उपदेश हेर्नुहोस्।

 

 


 

More form the Internet

loading...