Suvadin, Home

निर्वाचन निर्धारित समयभित्र सम्पन्न हुन्छ: प्रधानमन्त्री

तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडौं, पुस १५


प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन्। 

तमू ल्होछार, २०७३ को उपलक्ष्यमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिकता दिएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित गरेकाे र यस कार्यमा सहयोग र साथ दिन आम जनसमुदायलाई अपिल गरेका छन्।

राष्ट्रिय एकताले मात्र सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउँदै उनले जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिने बताए।

प्रधानमन्त्री दाहालले आफूले उत्पीडित वर्गका पहिचान र अधिकार स्थापित नभएसम्म राजनीतिक लडाइँ लडिरहने बताउँदै गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वाेच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएको, अहिले राष्ट्रको सर्वाेच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहेकाे र यो नै समावेशीको उत्कृष्ट उदाहरण रहेकाे बताए।

अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा नरहेकाे बताउँदै दाहालले गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने उद्घाेष गरे।

कार्यक्रममा गुरुङ सुमदायबाट विद्यावारिधि प्राप्त गर्ने र सो समुदायको उत्थानमा काम गर्नेलाई सम्मानसमेत प्रदान गरिएको थियो। सोही अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो। 

कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता देव गुरुङ, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एकताले नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरेका छन्।


 

More form the Internet

loading...