Suvadin, Home

मेयर नभए पार्टी नेतृत्व
रञ्जु दर्शनाले जित्छिन् भनेर मेयर उठाइएको हो?

रञ्जुले जितिन् भने काठमाडौंको मेयर भएर महानगर हाँक्नेछिन्। रञ्जुले हारिन् भने विवेकशील नेपालीले उनलाई नेतृत्वमा ल्याउनुपछ जसले युवाहरूको पार्टीका रूपमा आफ्नो परिचय बनाएको छ, युवाले देश समृद्ध पार्न सक्छन् तथा नेतृत्व हस्तान्तरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। यो पार्टी रञ्जुजस्ता युवाहरूलाई नेतृत्व दिँदै परिवर्तनको संवाहक बन्नुपर्छ।  
विवेकशील दलबाट काठमाडाैं मेयर पद उम्मेदवार रञ्जु दर्शना।

काठमाडौं, वैशाख ३ - स्थानीय तहको चुनावको मतदान सुरू हुनुअघि र भएपछि काठमाडांैकी एक उम्मेदवार बढी चर्चामा रहिन्। उनी थिइन्, रञ्जु दर्शना। काठमाडौं महानगरको मेयर पदका लागि २१ वर्षीया युवतीलाई उठाएपछि विवेकशील पार्टीकी दर्शनाको चर्चा चुलिनु स्वभाविक थियो।। उनको उम्मेदवारीसँगै समाजिक सञ्जाल तथा विभिन्न मिडियाहरूले उनलाई पछ्याउन थाल्यो र उनका चुनावी गतिविधिले मिडियामा यथेष्ट स्थान पायो। 

विभिन्न अभियानका क्रममा सामाजिक सञ्जालमा छाएका केही तस्बिरहरूबाट रञ्जु दर्शना युवामाझ भिज्दै गइन्। तिनै तस्बिरहरूले उनलाई राजनीतिक नेतृको रुपमा चित्रण गरायो। फरक धारको राजनीतिक पार्टीका रुपमा आफूलाई उभ्याएको विवेकशीलका पछिल्ला गतिविधिहरूमा रञ्जु दर्शना अग्रस्थानमा देखिने गर्थिन्। 

२०५२ सालमा काठमाडौंमा जन्मिएकी रन्जु स्नातक तहमा अध्ययनरत छिन्। आमासँग हुर्किएकी रन्जु बालुवाटारस्थित नेसनल कलेजमा डेभलपमेन्ट स्टडिज विषयमा अध्ययनरत छिन्। उनी तीन वर्षअघि विवेकशील पार्टीमा आवद्ध भएकी थिइन्। रञ्जुले राजनीतिलाई सुसंस्कृतिपूर्ण र सभ्य बनाउन आफू यसमा प्रवेश गरेको र मेयर पदबाट काठमाडौंलाई सफा र सुन्दर बनाउने योजना रहेको बताउँदै आएकी छिन्। 

एजेन्डाका हिसाबले विवेकशील नेपाली दल अन्य दलभन्दा अगुवा देखिन्छ। विवेकशीलले सामाजमा भइरहेका समसामयिक गतिविधिमा आफूलाई संलग्न गराउँदै दायरा फराकिलो बनाइरह्यो।

विवेकशील नेपाली दलको पृष्ठभूमि विभिन्न अभियानहरूबाट सुरु भएको हो। दोस्रो संविधानसभा चुनावमा विवेकशील दलका अध्यक्ष उज्वल थापासहित चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावमा उठ्दा २८ वटा दलहरूमध्ये विवेकशील पाँचौंमा थियो। चुनावमा मुख्य दलहरूसँग प्रतिस्पर्धी भएर भोट पाएपछि हौसिँदै विवेकशील जनताले वैकल्पिक धारको पार्टी खोजिरहेको निर्णयमा पुग्यो। फलस्वरुप २०७१ सालबाट विवेकशील नेपाली दल नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्दै विवेकशीलले औपचारिक रुपमा राजनीतिक क्रियाकलाप सुरु गर्यो। 

स्थानीय तहको निर्वाचनमा पनि काठमाडौंकी उम्मेदवार दर्शनालाई निकै महत्व दिनु र उनकै प्रचारप्रसारमा बढी श्रम र शक्ति प्रयोग गर्नुबाट विवेकशील नेपालीले आफ्नो क्षेत्र अझै पनि सहर केन्द्रित मात्र सीमित राखेको स्पष्ट बुझ्न सकिन्छ। विवेकशीलले आफ्नो संगठन विस्तार हालसम्म दुई दर्जन बाहेकका जिल्लामा पुर्याउन सकेको छैन। 

महाभूकम्पका बेला विवेकशीलले गरेका काम निकै कहलिए। भूकम्प गएको केही समयमै विवेकशीलका सदस्यहरू स्वफूर्त सेवामा खटिएका थिए। तर, ती प्रायः शिक्षण अस्पताल केन्द्रित थिए। यता, डा. गोविन्द केसीको अभियानमा सुरूदेखि नै लागेका उनीहरूले त्यस अभियानबाट अझै जनतासँग नजिक पुगे। 

यसरी विवेकशील नेपाली दलले समाजमा भइरहेका समसामयिक गतिविधिमा आफूलाई संलग्न गराउँदै आफ्नो दायरा फराकिलो बनाइराखेको छ। यस्तै अभियानमा बढी सक्रिय भएका कारण कतिपय व्यक्तिहरू विवेकशील नेपालीलाई राजनीतिक दलभन्दा पनि युवाहरूको संगठनका रुपमा मात्र सीमित रहेको तर्क गर्छन्। 

तर, विवेकशील दललाई समर्थन गर्ने ठूलो जमात युवाहरूको नै छ। यस दलको मुख्य आधार भनेका नै युवा हुन्। सोही आधारलाई ध्यानमा राख्दै विवेकशील नेपालीले काठमाडौं महानगरको मेयर पदमा पनि दर्शनालाई उठाएको हुनुपर्छ। अर्कातिर सामाजिक सञ्जालमा रञ्जुलाई पछ्याउने जमात पनि बढी थियो। त्यस्तै, अन्य पार्टीका उमेर ढल्केका नेताहरूलाई ‘युवालाई नेतृत्व दिनुपर्छ है’ भन्ने सन्देश पनि रञ्जुको उम्मेदवारीले दिन खोजिएको हुनसक्छ। 

के रञ्जु दर्शनाले जित्छिन् भनेर नै विवेकशीलले उठाएको हो त?

कुनै पनि प्रतिस्पर्धामा भाग लिइसकेपछि त्यसमा जितांै भन्ने चाहाना त सबैको हुन्छ। रञ्जुभन्दा मेयर पदका लागि पार्टी अध्यक्ष उज्वल थापा तथा गोविन्द नारायणजस्ता अनुभवी तथा परिपक्व नेताहरू थिए, जसले रञ्जुको तुलनामा मेयरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्थे। 

सानै उमेरमा उनलाई उठाउनुले उनको राजनीतिक भविष्यमा चोट पुग्ने आँकलन धेरैको छ। राम्रो नेतृत्व बन्ने सम्भावना बोकेकी रञ्जुलाई अनुभव र परिपक्वताको अभावमै युद्धमा होमिनु ठिक थियो त? तर, विवेकशीललले तीन वर्ष अघिमात्र पार्टी प्रवेश गरेकी तथा उमेरले पनि त्यति परिपक्व नभइसकेकी रञ्जुलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो। जसको अर्थ विवेकशीलको भित्री योजना रञ्जुको जित–हार भन्दा पनि पार्टीलाई हाइलाइटमा ल्याउने रणनीति देखिन्छ। 

उनले जितिन् भने त विवेकशीलका लागि ‘बोनस’ हुने नै भयो। काठमाडौंमा मेयरको मतगणना जारी रहँदा मंगलबार दिउँसो एउटा मेल प्राप्त भयो। जसमा लेखिएको थियो, ‘अब विवेकशीलले जित्नु र हार्नु छैन, हामीले जितिसक्यौं। विवेकशीलको चुनावी अभियानमा आमजनताको उत्साहजनक सहानुभूति र साथ हुनु नै विकेकशीलको जित हो।’  

मतगणना सुरु भइसकेपछि प्रेषित गरिएको उक्त इमेलले विवेकशील निकै चतुर पार्टी हो भन्ने कुरा प्रमाणित गरेको छ। रञ्जुलाई मेयरमा उठाउनुको उद्देश्य विवेकशीलको जित्नु नभई पार्टीको पहिचान फराकिलो बनाउनु रहेको खुलेको छ।

जित्ने लक्ष्य नै नराखिकन रञ्जुलाई विवेकशीलले किन काठमाडौंको मेयरमा उठायो त? उनलाई मेयर पदका लागि समर्थकहरू गर्ने विवेकशीलका प्रतिनिधिहरू प्रतिक्रिया लिँदा उनीप्रतिको सहानुभूति, प्रेम, माया, युवा र ऊर्जा तथा उनको आँट लगायत कारण टिकट पाएको बताउँछन्।

रञ्जुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा थुप्रै सामाजिक व्यक्तिहरूको साथ र सहयोग रह्यो। तीमध्येका एक थिए, आशुतोष तिवारी। आशुतोषले रञ्जुलाई युवा नेतृ भएको भन्दै उनको समर्थनमा विशेष पहल गरेका थिए। विवेकशील र रञ्जुले पनि आफ्नो पक्षमा समर्थन जुटाउन ‘युवा’ शब्दको अत्यधिक प्रयोग गरेका हुन्। कतिपयले उनीहरूलाई सामाजिक सञ्जालमार्फत ‘युवालाई नबेच, आफ्नो योजनालाई बेच’ भन्नेसम्मका सुझाव दिए। उनलाई समर्थन गर्नेहरूलाई ‘भावना’ र ‘युवा’ शब्दले बढी आकर्षित गरेको तथ्य हो। तर, पनि रञ्जु दर्शना एक सबल नेतृ हुन्। 

रञ्जुले जितिन् भने काठमाडौंको मेयर भएर महानगर हाँक्नेछिन्। रञ्जुले हारिन् भने विवेकशील नेपालीले उनलाई नेतृत्वमा ल्याउनुपछ जसले युवाहरूको पार्टीका रूपमा आफ्नो परिचय बनाएको छ, युवाले देश समृद्ध पार्न सक्छन् तथा नेतृत्व हस्तान्तरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। यो पार्टी रञ्जुजस्ता युवाहरूलाई नेतृत्व दिँदै परिवर्तनको संवाहक बन्नुपर्छ।

देशको राजधानी, साढे १७ लाख स्थायी बासिन्दा, ४० लाख बढी जनसंख्या, सिंहदरबार, मन्त्रालय लगायतका महत्वपूर्ण प्रशासकीय निकायहरु रहेको काठमाडौंको मेयरका लागि योग्य ठानेको रञ्जुलाई अब विवेकशीलले अब आफ्नो पार्टीको नेतृत्वका लागि पनि योग्य ठान्नुपर्छ। रञ्जुलाई पार्टी अध्यक्षको जिम्मेवारी दिँदै देशकै युवा र शक्तिशाली पार्टीको रुपमा अगाडि आउने अवसर विवेकशीलले खेर फाल्न हुँदैन। रञ्जुले मेयरको उम्मेदवारीबाट अभियान कसरी सञ्चालन गर्ने, पार्टी कसरी चलाउने, विभिन्न मान्छेहरूसँग कसरी सम्बन्ध स्थापित गर्ने लगायत कुरा सिकेकी छिन्। उम्मेदवारीबाट उनले सिकेका ज्ञानलाई प्रयोगमा ल्याई विवेकशीलले नेतृत्व हस्तान्तरण गर्न हिम्मत देखाउनु आवश्यक छ। 


 

More form the Internet

loading...