Suvadin, Home

Cover Image

राजपाको डेटलाइन कात्तकि : कि समाजवादीसँग एकता नत्र महाधिवेशन 

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी कात्तिक महिनाअघि नै एकीकरण गर्नेगरी दुवै पार्टीका नेताहरूले प्रयास सुरु गरेका छन् ।  कात्तिक अन्तिम साताका लागि तय गरेको राजपा महाधिवेशनअघि नै एकता टुंगो लगाउन दुवै पार्टीका शीर्ष नेताले अनौपचारिक छलफल तीव्र बनाएका हुन्।  उपचार गर्न भारत पुगेका राजपाका नेता महन्थ ठाकुर आइतबार स्वदेश फर्केका छन्।  

अब केही दिनमै ठाकुरको नेतृत्वमा औपचारिक वार्ता हुने राजपाका नेताहरूले जनाएका छन्।  ठाकुर भारत गएको बेला बिहीबार समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपाका राजेन्द्र महतोबीच राजपाको संसदीय दलको कार्यलय सिंहदरबारमा वार्ता भएको थियो।  उक्त वार्ता अनौपचारिक भएको राजपाका नेताको भनाइ छ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टी एकीकरण गर्न अनौपचारिक कुराकानी र संवाद भइरहेको बताए।  तर समाजवादी पार्टीका महासचिव रामसाह यादवले भने राजपाको महाधिवेशनअघि नै दुई पार्टीबीच एकीकरण गर्नेगरी संवाद र छलफल भइरहेको दाबी गरे।  ‘राजपाको महाधिवेशनअघि नै एकीकरण गर्नेगरी औपचारिक-अनौपचारिक वार्ता भइरहेको छ,’ यादवले भने, ‘एकीकरणको विषयलाई बढी चर्चा गर्नुभन्दा परिणाम देखाउन हामी लागेका छौं । ’ राजपाका एक शीर्ष नेताले पनि एकीकरणको विषयमा भएका सबै कुरा बाहिर ल्याउनबित्तिकै भाँड्न प्रयास सुरु हुने भएकाले सकेसम्म छोटो समयमै एकीकरण घोषणा गर्ने हाम्रो प्रयास हो। ’

राजपा स्रोतका अनुसार राजपा र समाजवादी पार्टी एकीकरण गर्न राजपाका नेताहरूले दुइवटा सर्त अघि सारेका छन्।  एकीकृत पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर हुनुपर्ने र पार्टी एकीकरण घोषणाअघि समाजवादीले सरकार छाड्नुपर्ने उनीहरूको भनाइ छ। 

यसमा समाजवादी पार्टीका नेताहरू सकरात्मक भएको राजापाका नेताको दाबी छ।  पहिलो अध्यक्ष ठाकुर, दोस्रो स्थानमा बाबुराम भट्टराई, तेस्रो स्थानमा उपेन्द्र यादव र चौथो स्थानमा राजेन्द्र महतोलाई राख्ने विषयमा करिब करिब सहमति भएको दुवै पार्टीका नेताहरू बताउछन्।  राजपाका एक पदाधिकारी भन्छन्, ‘पार्टी एकीकरणका लागि सबैभन्दा ठूलो चुनौती नेतृत्व नेतृत्व कसले लिने भन्ने हो।  नेतृत्वको विषयमा सहमति जुटेपछि एकीकरण गर्न समस्या हुँदैन। ’

राजपाका महासचिव केशव झाले पनि राजपाको महाधिवेशनअघि राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनसक्ने बताए।  उनले भने, ‘कात्तिक मसान्तसम्म कि एकीकरण हुन्छ कि महाधिवेशन हुन्छ। ’ 


 

More form the Internet

loading...