Suvadin, Home
NMB Bank Ltd 269.1k

ज्ञानेन्द्रको हङकङमा ‘राजनीतिक भेटघाट’
राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ बैंककमा

गत महिना पूर्वराजा ज्ञानेन्द्रसँग विशिष्ठ चिनियाँ नेताहरूले ‘वान टु वान’ भेटघाट गर्ने क्रममा नेपालमा स्थिर र भरपर्दो राजनीतिक संस्थापन नहुँदा चीनको भूराजनीतिक स्वार्थ व्यवस्थापनमा एक किसिमको सकस परेको ‘रियलाइजेसन’ अभिव्यक्त गरेको उक्त स्रोतले दाबी गर्यो। 
पूर्वराजा शाह।

काठमाडौं, पुस २४


पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ थाइल्याण्ड गएका छन्। 

रानी कोमल, हिमानी, अधिराजकुमारी प्रेरणा, नातिनातिना पुस ४ गते नै बैंकक गएका थिए। ज्ञानेन्द्र भने पुस १३ गते बैंकक गएका हुन्। 

निर्मल निवास स्रोतका अनुसार हिमानी छोराछोरीसहित आइतबार काठमाडौं फर्किने सम्भावना छ। 

परिवारका सबै सदस्य बैंकक रहे पनि पूर्वयुवराज पारस भने नेपालमै छन्। परिवारबाट टाढा रहेका पारस र निर्मल निवासको सम्बन्ध बनिसकेको छैन। ‘पारस सरकारबाहेक सबै जना बैंकक हुनुहुन्छ,’ निर्मल निवास स्रोतले भन्यो। 

पुस ६ गते संघीयता र राजनीतिप्रति निकै वितृष्णासहित विज्ञप्ति जारी गरेका शाह त्यसको एक सातामा थाइल्याण्ड हिँडेका हुन्। स्रोतका अनुसार थाइल्याण्डमा केही दिन बिताएर हङकङ हानिँदै शाहले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गरेका थिए। उनी पुस २९ गते नेपाल फर्किने सम्भावना छ। 

स्रोतका अनुसार प्रत्येक वर्ष राजपरिवारका सदस्य जाडो छल्न बैंकक जान्छन्। बैंकक बसाइका क्रममा ज्ञानेन्द्रलाई राजनीतिक भेटघाटमा समेत सहजता मिल्ने गरेको छ। 

गणतन्त्र घोषणापछि चुपचाप बसेका उनी पछिल्लो समय विदेशमा राजनीतिक भेटघाटमा सक्रिय हुन थालेका हुन्। संविधान कार्यान्वयन, संघीयतामा देखिएको समस्या, राजनीतिक घटनाक्रममा शाहले तीव्र असन्तुष्टि जनाउने गरेका छन्।

हिन्दु राष्ट्र र राजसंस्थाप्रति पछिल्लो समय जनताको सहानुभूति बढेको भान परेका शाह यसैलाई लिएर उच्चस्तरीय भेटघाटमा सक्रिय हुन थालेको स्रोतले बताएको छ। 

गत महिना सिंगापुर हुँदै चीनको राजधानी बेइजिङसम्म गरेको भ्रमणलाई पूर्वराजाले राजतन्त्रको समाप्तिपछि हालसम्म गरेको सबैभन्दा महत्वपूर्ण अर्थ राख्ने अन्तर्राष्ट्रिय ‘इङगेजमेन्ट’का रुपमा हेरिएको छ। सिंगापुरमा उनले ‘राजतन्त्रप्रति सहानुभूतिशील’ आशय पाउने गरी भारत र चीन दुबैतर्फका राजनीतिक व्यक्तित्वसँग भेटघाट गरेको निर्मल निवास स्रोत बताउँछ।

गत महिना पूर्वराजा ज्ञानेन्द्रसँग विशिष्ठ चिनियाँ नेताहरूले ‘वान टु वान’ भेटघाट गर्ने क्रममा नेपालमा स्थिर र भरपर्दो राजनीतिक संस्थापन नहुँदा चीनको भूराजनीतिक स्वार्थ व्यवस्थापनमा एक किसिमको सकस परेको ‘रियलाइजेसन’ अभिव्यक्त गरेको उक्त स्रोतले दाबी गर्यो। 

पूर्वराजाले विज्ञप्ति जारी गर्दै राजनीतिमा तरंग आउने गरेको छ। पुस ६ गतेको विज्ञप्तिपछि सरकारले दरबार हत्याकाण्ड पुनः छानविन गर्ने भनी मन्त्रिपरिषदमा हल्ला चलेको थियो। पूर्वराजाको गतिविधिलाई लिएर राजनीतिक दल तथा नेताहरूसमेतले टिप्पणी गर्ने हुनाले घरिघरि ‘इस्यु’ बन्ने गरेको छ। 

‘पूर्वराष्ट्रप्रमुखका हैसियतमा विदेश जानु, भेटघाट गर्नु सामान्य कुरा हो, देशको परिस्थितिमाथि राष्ट्रप्रमुखले चिन्ता गर्न नपाउने भन्ने त हुन्न,’ शाहका स्वकीय सचिव फणिराज पाठक भन्छन्, ‘यस्ता विषयलाई लिएर के–के न हुनलाग्यो भनेर अनावश्यक टिप्पणी गरिन्छ, हामीले के भन्ने?’   

 

More form the Internet

loading...