Suvadin, Home

एमालेसँगको तालमेलमा ‘धोका’  
अप्रत्यासित हारपछि राप्रपा के गर्दैछ? 

स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निराशाजनक नतिजा हात लागेको छ। चुनावी तालमेलमा एमालेले ‘धोका’ दिएको हुनसक्ने आँकलन गर्दै संसदको चौथो ठूलो दल राप्रपा दोस्रो चरणको निर्वाचनमा तालमेलबारे पुनर्विचार गर्ने मनस्थितिमा पुगेको छ।
राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शमशेर राणा।

काठमाडाैं, जेठ ५ - स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निराशाजनक नतिजा हात लागेको छ। चुनावी तालमेलमा एमालेले ‘धोका’ दिएको हुनसक्ने आँकलन गर्दै संसदको चौथो ठूलो दल राप्रपा दोस्रो चरणको निर्वाचनमा तालमेलबारे पुनर्विचार गर्ने मनस्थितिमा पुगेको छ।

यद्यपि, राप्रपाले पहिलो चरणको निर्वाचनको अन्तिम परिणाम कुर्ने र त्यसपछि मात्रै रणनीति बनाउने उसको योजना। नेताहरूका अनुसार अहिलेसम्म आएको परिणाम निराशाजनक तथा अप्रत्यासित छ। ‘चुनावी तालमेलअनुसारको अनुभूति भएको छैन, हामी गम्भीर समीक्षा गर्ने सोचमा पुगेका छौं,’ सहप्रवक्ता मोहन श्रेष्ठले शुभदिनसँग भने, ‘दोस्रो चरणको निर्वाचनमा तालमेल गर्ने नगर्नेबारे समीक्षा हुन्छ।’

तालमेल गरेको दलले अग्रता लिँदा आफ्नो दल भने खुम्चिएकोमा उसले धोका महसुस गरेको छ। ‘यसहिसाबले हामीले गम्भीर ढंगले सोच्न जरुरी छ,’ श्रेष्ठले भने। राप्रपाले हालसम्म एक ठाउँमा प्रमुख पद जितेको छ। पाँच ठाउँमा उपप्रमुख जितेको छ।  

पहिलो चरणको निर्वाचन क्षेत्रमा सांगठनिक संरचना कमजोर रहेको महसुस गर्दै राप्रपाले एमालेसँग तालमेल गरेको थियो। जितको अपेक्षा गरेका क्षेत्र हेटौडा, सल्यान, दैलेख, सुर्खेतमा पनि नतिजा पक्षमा नआएपछि राप्रपा एमालेसँगको तालमेलमा नराम्ररी झस्किएको छ। 

सहप्रवक्ता श्रेष्ठका अनुसार अन्तिम मतगणनापछि समीक्षा गरेर तालमेलबारे पुनर्विचार गरिने छ। पहिलो चरणको निर्वाचनमा उम्मेदवारी घोषणाको अघिल्लो दिनमात्र तालमेल गरिएकाले प्रचारका लागि पर्याप्त समय पाउन नसक्नु पनि हारको कारण हुनसक्ने राप्रपाको आँकलन छ। यद्यपि, सहकार्य गरेको दललाई आफ्नो पार्टीबाट पूरापूर मत प्राप्त हुनु तर आफूलाई हार हात लाग्नुलाई राप्रपाले धोका महसुस गरेको छ।

‘दोस्रो चरणको चुनावमा कि सुरूमै तालमेल गरिन्छ, पहिलो चरणको समीक्षा गरेर कि तालमेल नै गरिँदैन,’ श्रेष्ठले भने, ‘तराईमा संगठनात्मक संरचना र शुभचिन्तक धेरै रहेकाले हामी एक्लै पनि जानसक्छौं।’

पहिलो चरणको हारलाई शक्तिमा बदल्नेगरी दोस्रो चरणको निर्वाचनमा जाने राप्रपाले जनाएको छ। ‘पहिलो चरणमा भएका गल्ती कमजोरीलाई सच्याउँदै दोस्रो चरणको निर्वाचनको तयारीमा जानेछौं,’ श्रेष्ठले भने। राप्रपाले प्रमुख राजनीतिक दलले चुनावमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेको आरोप लगाएको छ। सहप्रवक्ता श्रेष्ठले गुन्डाहरूको अधिकतम् प्रयोग गरेर प्रमुख दलले मतदातामा त्रास फैलाएको आरोप लगाए।  

संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फ उत्साहजनक मत ल्याएर राप्रपा चौथो दलको रुपमा उदाएको थियो। समानुपातिकतर्फ राजधानीमा उत्साहजनक मत ल्याएको राप्रपालाई स्थानीय तह निर्वाचनमा परिणाम हात लागेन। 

स्थानीय तह निर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ। निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा एमाले ९३ स्थानमा (मेयर/प्रमुख) विजयी भएको छ। एमाले २५ ठाउँमा अगाडि छ। 

नेकपा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले ९१ ठाउँमा मेयर÷प्रमुख जितेको छ। ऊ १२ ठाउँमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ। 

प्रमुख सत्तारुढ दल नेकपा एमाले कांग्रेस र एमालेभन्दा आधा पछि परेको छ। ऊ हालसम्म ४३ स्थानमा विजयी भएको छ भने चार ठाउँमा अगाडि रहेको छ। अन्य राजनीतिक पार्टीले पाँच ठाउँमा जितेका छन्। दुई ठाउँमा अगाडि छन्। संसदको चौथो दल राप्रपाको नतिजा निराशाजनक देखिएको छ। उसले हालसम्म एक ठाउँ जितेको छ, एक ठाउँमा अगाडि छ। 

एमालेले १०३ ठाउँमा उपप्रमुख जितेको छ, २७ ठाउँमा अगाडि छ। कांग्रेस उपप्रमुखमा एमालेभन्दा धेरै नै पछाडि देखिएको छ। कांग्रेसलाई ७३ ठाउँमा मात्र उपप्रमुख हात लागेको छ, ११ ठाउँमा अगाडि छ।

माओवादीले ४४ ठाउँमा उपप्रमुख जितेको छ, ६ ठाउँमा अगाडि छ। अन्य राजनीतिक दल ६ ठाउँमा उपप्रमुखमा विजयी भएका छन्, एक ठाउँमा अग्रता छ।

काठमाडौं उपत्यकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १०२४५ मतसाथ अगाडि छन्। उनलाई कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन्। जोशीको ६६५५ मत छ। उपमेयरमा कांग्रेस र राप्रपाबीच प्रतिस्पर्धा छ। तर, उपमेयरमा कांग्रेसले राप्रपालाई निकै पछाडि छोडेको छ। कांग्रेस उम्मेदवार हरिप्रभा श्रेष्ठको ८९२२ मत छ भने राप्रपाका राजाराम श्रेष्ठको ५५१० मत छ। 


 

More form the Internet

loading...