Suvadin, Home

यस्ताे छ पूर्वपञ्चको जुट-फुटको श्रृंखला
कमल थापाकाे अाडम्बरले राजनीतिक भविश्यमै संकट

पूर्वपञ्चहरूको फुट, जुट र फेरि फुटको खेल नयाँ नभएपनि स्थानीय तहको निर्वाचनमा भएको लज्जास्पद हारपछिको फुटले अबको निर्वाचनमा पूर्वपञ्चहरूकाे हालत के हाेला भन्ने प्रश्न अामरूपमा खडा भएकाे छ। अाफू संस्थापन भनेपछि हाैसिएका थापाले 'भुँर्इमा न भाँडामा' भन्ने उखानलार्इ चरितार्थ गर्दै गए। अन्ततः पार्टी फुट्दा राणाले राम्रै फाइदा उठाउँदा थापाले भने अाफ्नै सहकर्मी गुमाउन पुगे।
मंसिर ६ गते सम्पन्न एकतासभामा पूर्वपञ्चहरू।

काठमाडाैं, साउन २३ – एकीकरणको आठ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी दुई टुक्रा भयाे। त्यसै कारण अहिले फेरि पूर्वपञ्चहरूको विषयले नेपाली राजनीतिमा चर्चा पाएको छ। 

पूर्वपञ्चहरूको फुट, जुट र फेरि फुटको खेल नयाँ नभएपनि स्थानीय तहको निर्वाचनमा भएको लज्जास्पद हारपछिको फुटले अबको निर्वाचनमा पूर्वपञ्चहरूकाे हालत के हाेला भन्ने प्रश्न अामरूपमा खडा भएकाे छ। 

अर्काेतर्फ राप्रपाका अध्यक्ष कमल थापासँग सम्बन्धविच्छेद गरेर राप्रपा (प्रजातान्त्रिक) स्थापना गरेका पशुपतिशमशेर राणा र यसअघि नै अलग्गिएका डा. प्रकाशचन्द्र लोहनीबीच एकता कत्तिको सम्भव होला भन्ने प्रश्न उठेको छ। साथै चतुर खेलाडीका रुपमा कमल थापाको अबको राजनीतिक भविष्य पनि कतातिर जाला? यो प्रश्न नेपाली राजनीतिमा पेचिलो बनेको छ।

कमल थापालाई घाटा, पशुपतिलाई नाफा

वि.सं. २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा चौंथो शक्ति बनेपछि हौसिएको राप्रपा नेपालले राप्रपासँग एकता गर्यो, गत ६ मंसिरमा। एकता महाधिवेशनले राजसंस्थासहितको प्रजातन्त्रलाई अंगीकार गर्दै पार्टीलाई शक्तिशाली रुपमा अगाडि बढाउने निर्णय गर्यो।

तर, अध्यक्ष थापाले एकलौटी गर्न थालेपछि डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको समूह अलग भयो। र,  राप्रपा राष्ट्रवादी खडा भयो। महाधिवेशनमा जीतहारको अंकगणितसँगै पद बाँडफाँटको विषयमा देखिएको मतभेद लोहनी बाहिरिए पनि थापा र राणाबीचको सहयात्रा भने आठ महिना चल्यो, त्याे पनि बहुत तुस र अाक्राेशपूर्ण।

फुटको मुख्य कारण स्थानीय तहको निर्वाचनमा पराजय, सरकारमा जाने र नजाने विषय, पद बाँडफाँडमा मतभेद र चुनाव चिह्नकाे विषय पनि ज्यादै पेचिलाे रह्याे। राणा पक्षधर चुनाव चिह्न हलो बनाउन चाहन्थ्यो। तर, थापालार्इ ‘गाई’ नै चुनाव चिह्न प्याराे थियाे।

र, अाफू संस्थापन भनेपछि हाैसिएका थापाले 'भुँर्इमा न भाँडामा' भन्ने उखानलार्इ चरितार्थ गर्दै गए। अन्ततः पार्टी फुट्दा राणाले राम्रै फाइदा उठाउँदा थापाले भने अाफ्नै सहकर्मी गुमाउन पुगे। कमल थापाकाे अाडम्बरले पार्टी फुटेकाे राप्रपा छाेडेकाे एक नेता बताउँछन्।

आइतबार राणाले पार्टी विभाजन गर्दा १९ सांसद् लगेर गए। गत फागुनमा भएको एकताको क्रममा राणासँग १२ र थापासँग २५ सांसद् रहेका थिए। एकता पश्चात राप्रपा चौंथो शक्तिसहित ३७ सिटे बनेको थियो।

तर, अहिले कमल थापालाई सात सिट घाटा लागेको छ। अर्थात् १२ सांसद लिएर आएका राणा १९ सांसद् लिएर गएपछि थापाकाे संसद्काे माेटार्इ पनि घटेकाे छ। राणाले आइतबार नै निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। 

यद्यपि, निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई मान्यता प्राप्तको कागजात दिइसकेको छैन। यो फुटले राप्रपा अध्यक्ष कमल थापा अाफ्नै अाडम्बरले कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ।

फाइदामा राजपा

पूर्वपञ्च फुट्दा राष्ट्रिय जनता पार्टीलाई संसदीय गणितीय हिसाबकिताबमा फाइदा पुगेको छ। ३७ सिटसहित राप्रपा चौंथो शक्ति हुँदा गत वैशाख १९ गते एकीकृत भएको राजपा २४ सिटसहित पाँचौं शक्तिका रुपमा रहेको थियो।

तर, अब राप्रपाको फुटपछि राजपा चौंथो शक्ति बनेको छ। थापा नेतृत्वको राप्रपा छैठौं शक्ति हुँदा राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पाँचौं शक्ति बनेको छ।

फुट र जुटको श्रृंखला  

पूर्वपञ्चको फुट र जुटको श्रृंखला भने नौंलो होइन, यो १८औं फुट हो। इतिहास फर्केर हेर्ने हो भने २०४७ जेठ १५ गते एकै दिन दुई राप्रपा खुले। एउटै पार्टी खोल्ने तयारी भएपनि अन्ततः सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले अलग-अलगत पार्टी खोले।

२०४८ सालको संसदीय चुनावमा पूर्वपञ्चका दुवै पार्टी बढारिए। चुनाव हारेपछि २०४९ सालमा दुवै पार्टी एक भए र गठन भयो - राप्रपा। २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपा प्रत्यक्षतर्फ २० सिटमा विजयी भयो। तर, २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो।

फेरि, दुवै पार्टी २०५७ सालमै एक भए। तर, २०६२ पुस २६ र २७ गते काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरिएपनि निर्वाचन आयोगले मान्यता दिएन। त्यसपछि थापाको समूह राप्रपा नेपाल नामाकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो।

यसैगरी, सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे। त्यसपश्चात जनशक्त्ति पार्टी र राणाकोे राप्रपाबीच २०७० असारमा एकता भयो। २०७३ मा दुवै राप्रपा एक भए। तर, केही महिनामै डा. प्रकाशचन्द्र लोहनीको समूह फट्यो। २०७४ साउन २२ गते राप्रपा फेरि दुई वटै भयाे।
 
पार्टी छोडेका नै कारबाहीमा 

राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेपछि सोमबार बसेको राप्रपाको केन्द्रीय समिति बैठकले ६ सांसद्सहित १७ केन्द्रीय सदस्यमाथि कारबाही गरेको छ। आकस्मिक रुपमा बोलाइएको राप्रपाको केन्द्रीय समिति बैठकले ६ जना सांसद्सहित १७ जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गरेको हो।

तर, ती सांसद, नेता आफूहरुको पार्टीमा आइसकेपछि कारबाहीमा परेको राणा नेतृत्वको राप्रपाका एक नेताले बताएका छन्। राप्रपाले सांसदहरुमा दीपक बोहरा, सुनिल थापा, रेशम लामा, विराज विष्ट, बबिना मोक्तान लावती र राज्यलक्ष्मी श्रेष्ठलाई कारबाही गरेको हो। 

यसैगरी, केन्द्रीय सदस्यहरु हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, प्रवीण चाम्लिङ, पदमबहादुर बस्नेत, नवराज सुवेदी, गिरिधारी परियार, विष्णुविक्रम थापा, बिन्दु पहाडी, दीपककुमार राई, किरण गिरी र प्रदीप उदयलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको प्रवक्ता भूवन पाठकले जानकारी दिए।


 

More form the Internet

loading...