Suvadin, Home

समाजवादी पार्टीको बैठकमा सरकार छाड्ने र राजपासँगको एकताका विषयमा छलफल हुँदै

काठमाडौं । आज राजधानी समाजवादी पार्टीको बैठक बस्दैछ । पार्टीको संघीय परिषद बैठकमा सरकारमा बसिरहने वा बाहिरिने भन्नेबारे छलफल हुने भएको हो ।

संघीय परिषद बैठक लगत्तै पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्दैछ । शुक्रबार र शनिबार बस्ने केन्द्रीय समितिको बैठकले संघीय परिषद बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक संघीय परिषद र केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यस अतिरिक्त बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकता गर्ने या नगर्ने भन्नेबारे समेत छलफल हुने जनाइएको छ । पार्टीभित्र सरकारमा रहिरहने र बाहिरिनुपर्ने दुईथरी मत देखिएको छ । त्यस्तै राजपासँगे एकता गर्ने र नगर्नेबारे पनि दुईथरी मत नै विद्यमान छ ।

राजपाले पार्टी एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको छ । समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकताका सन्दर्भमा औपचारिक छलफल नगर्ने राजपाको धारणा छ । राजपाको सोही शर्तका सन्दर्भमा समेत समाजवादी पार्टीले आन्तरिक बैठकमा गम्भीर छलफल गर्ने जनाइएको छ ।

‘बैठकपछि सरकारमा बसिरहने या बाहिरिने तथा राजपासँग एकता गर्ने या नगर्ने भन्ने सन्दर्भमा प्रष्ट धारणा सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो, ‘पार्टीले अब प्रष्ट दिशा र गति लिन्छ ।’

पार्टीका केही नेताहरु तत्काल सरकार छाडेर संविधान संशोधनसहितका मुद्दा लिएर जनतामा जानुपर्ने पक्षमा छन् भने अर्काथरीले सरकारमै रहेर संविधान संशोधनका लागि सार्थक पहल गर्नुपर्ने तर्क गरिरहेका छन् ।

केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा रहेर विपक्षीको जस्तो भूमिका निर्वाह नगर्न चेतावनी दिँदै सरकारलाई असहयोग गर्ने हो भने तत्काल सरकार छाड्न सुझाव दिएको तथ्य प्रकाशमा आएको थियो ।
 


 

More form the Internet

loading...