Suvadin, Home

Cover Image

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी 

मेलबर्न : अस्ट्रेलियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी भएको छ । जितपछि उत्साहित हुँदै मरिसनले जनताप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘मलाई चमत्कारमा विश्वास लाग्छ ।’ विपक्षी दलका नेता तथा अस्ट्रेलियन लेबर पार्टीका बिल शर्टनले आफ्नो पराजय स्वीकार गरेका छन् । उनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजीनामा दिएका छन् । उनले भने, ‘राष्ट्रिय हितका लागि केही समयअगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसनलाई फोन गरी बधाई दिइसकेँ ।’

निर्वाचन सर्वेक्षणमा भने लेबर पार्टीको जित हुने सम्भावना देखाइएको थियो । ७० प्रतिशत मत गणना हुँदासम्म मरीसनको गठबन्धन विजयी भएको अगाडि रहेको छ । यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री टोनी अबोट पराजित भएका छन् ।

अस्ट्रेलियाकी पूर्वविदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दै नतिजाप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेकी छु ।’ पूर्वप्रधानमन्त्री अबोटको समलिंगी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताइन् ।

यस वर्षको निर्वाचनमा १ करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका थिए । स्थानीय समयअनुसार शनिबार बिहान ८ बजे निर्वाचन शुरु भई साँझ ६ बजेसम्म मतदान भएको थियो । शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अस्ट्रेलियालीले मतदानमा भाग लिएका थिए ।


 

More form the Internet

loading...