Suvadin, Home

Cover Image

नयाँ नक्सामा नेपाली सीमा नमिचिएको भारतको दाबीपछि राजदूत पूरीलाई देउवाको फोन

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपालको सीमा नमिचिएको दाबी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालस्थित भारतीय राजदूत मञ्‍जिव सिंह पुरीलाई टेलिफोन गरेका छन् । 

भारतको नक्सामा नेपालको कालापानी र लिपुलेक समावेश गरिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला  प्रमुख प्रतिपक्ष दलका सभापति देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको तथ्य स्मरण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । 

नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेकोसमेत जनाइएको छ । 'कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ', कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कांग्रेस विज्ञप्तिका तीन बुँदा :

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विटमार्फत् तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्वविदितै छ। कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली  कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ।

(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ। नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ।

(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दामाथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ।


 

More form the Internet

loading...