Suvadin, Home

नेपाल तरुण दलको र्यालीमा प्रहरी हस्तक्षेप, ५० जनाभन्दा धेरै घाइते

तरुण दलले माइतीघर मण्डलाबाट निकालेको जुलुस बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो। अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो। प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए।
तरूण दलको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप।

काठमाडौं, ५ साउन – प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपमा पत्रकारसहित ५० जनाभन्दा बढी घाइते भएका छन्। 

घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायत तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ। 

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ। अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ। 

तरुण दलले माइतीघर मण्डलाबाट निकालेको जुलुस बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो। अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो। प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए। 

जुलुसमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो। 

यसैबीच, समाचार संकलनका लागि खटिएका प्रेस युनियनका महासचिव शिवाकोटीमाथि प्रहरीले लाठी प्रहार गरेको घटनाप्रति युनियनले भर्त्सना गरेको छ। अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ। 

यसैबीच, नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले केपी अोली नेतृत्वको सरकारले दमन जारी राखे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।


 

More form the Internet

loading...