Suvadin, Home

एकताका लागि समाजवादी पार्टी र राजपा सहमत, 'मोडालिटीबारे' छलफल हुँदै 

काठमाडौं । लामो रस्साकस्सीबीच नवगठित समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकतालागि सहमति भएको छ । कुन मोडालिटीमा पार्टी एकता गर्ने भन्‍ने विषयमा अहिले दुवै पक्षबीच छलफल भइरहेको राजपाका एक नेताले बताए । 

महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल भइरहेको छ । कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति नभएको राजपा श्रोतले बताएको छ । 

समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । यद्यपि यो विषयमा दुवै दल गभ्मीर भएर छलफल गरे एक घण्टामा टुङ्गिने राजपा श्रोतले बताएको छ । त्यसबाहेक, दुवै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापना गर्ने विषयमा नेताहरुको बीचमा छलफल भइरहेको स्रोतको दाबी छ । समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव अनि त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

राजपा नेपालका महेन्द्रराय यादवलाई संसदीय दलको नेता दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसपछि शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने सहमति भइसकेको अवस्थामा अब कुन मोडालिटीमा एकीकरण हुने भन्ने विषय मात्र बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

गत बुधवार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवास छलफल भएको थियो भने त्यसको भोलिपल्ट उपेन्द्र यादवको निवासमा छलफल भएको थियो । शुक्रबार संसद भवनमा तीन नेताको बीचमा छलफल भएको थियो । पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २-३ घण्टा लामो छलफल हुने गरेको छ ।


 

More form the Internet

loading...