निर्वाचन अधिकृतमाथि एमालेकाे अाक्रमण, स्याङ्जा सदरमुकाममा कर्फ्यू
स्याङ्जा, मंसिर २२ – बिहीबार सम्पन्न मतदानको विषयलाई लिएर स्याङ्जा सदरमुकाम अहिले तनावग्रस्त बनेको छ। नेकपा एमाले नेता तथा कार्यकर्ताहरूले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात गरेका थिए।
त्यसपछि स्थिति तनावग्रस्त भएकाे हाे। उत्तेजित एमाले कार्यकर्ताले प्रहरीले नै रोक्न खोजेपछि नेकपा एमालेका आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए।
अहिले जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा रहेका मतपेटिकाको सुरक्षाकर्मीले रेखदेख गरिरहेका छन्।
स्याङ्जामा मतदानको विषयलाई विवाद चुलिँदै गएर तनावको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले स्याङ्जा सदरमुकामको चारैतिर तीन किलोमिटरको क्षेत्रमा भेला, सभा तथा समूहमा नबस्न निषेधित क्षेत्र घोषणा गरेको छ।
सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक नलगाइएको जनाइएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसले चारवटा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अवरुद्ध भएको छ।
स्याङ्जा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र नेकपा एमाले केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धा रहेका छन्।