Suvadin, Home

थमसराको जीवन–संघर्ष 
शिक्षण पेशालार्इ बिट मार्दै गाउँपालिकाकाे अध्यक्ष 

एक महिनाअघि मात्र विद्यालयको प्रधानाध्यापक थिइन्, उनी। तर, अहिले जिम्मेवारी परिवर्तन भएको छ। स्थानीय सरकारको जनप्रतिनिधि बनेकी छन् थमसरा पुन मगर (४३)। मुलुकमा २० वर्षपछि अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक वैशाख ३१ गते निर्वाचन हुने भएपछि थमसराले १० वर्षे शिक्षण पेशालाई बिट मारिन्। म्याग्दी, धौलागिरी गाउँपालिका–४ खिबाङमा रहेको चन्द्रोज्योति माविको प्रधानाध्यापक (निमावि तहको राहत शिक्षक) बाट राजीनामा दिएर चुनावमा होमिएकी उनी अध्यक्षमा निर्वाचित पनि भइन्।
थमसरा पुन मगर।

काठमाडाैं, जेठ ५– एक महिनाअघि मात्र विद्यालयको प्रधानाध्यापक थिइन्, उनी। तर, अहिले जिम्मेवारी परिवर्तन भएको छ। स्थानीय सरकारको जनप्रतिनिधि बनेकी छन् थमसरा पुन मगर (४३)।

मुलुकमा २० वर्षपछि अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक वैशाख ३१ गते निर्वाचन हुने भएपछि थमसराले १० वर्षे शिक्षण पेशालाई बिट मारिन्।

म्याग्दी, धौलागिरी गाउँपालिका–४ खिबाङमा रहेको चन्द्रोज्योति माविको प्रधानाध्यापक (निमावि तहको राहत शिक्षक) बाट राजीनामा दिएर चुनावमा होमिएकी उनी अध्यक्षमा निर्वाचित पनि भइन्।

जेठ ३ गते सार्वजनिक मतपरिणामअनुसार थमसराले कांग्रेस–माओवादी गठबन्धनका रिमप्रकाश थापालाई हराइन्। उनी एमालेबाट उम्मेदवार बनेकी थिइन्।

१० वर्षे शिक्षण पेशा बिट मारेर स्थानीय चुनावमा होमिएकी थमसरा म्याग्दीका ७  स्थानीय तहमध्ये एउटा मात्र महिला प्रमुख हुन्। एक नगरपालिका र ६ गाउँपालिका रहेको म्याग्दीमा अन्य दलले प्रमुख पदमा महिला उम्मेदवार तय गरेनन्। एमालेले भने धौलागिरीमा थमसरालाई अघि सार्यो। र, उनले बाजी मारिन्।

यसअघि २०५४ मा स्थानीय निकायको चुनाव हुँदा उनी वडा सदस्य निर्वाचित भएकी थिइन्।

४३ वसन्तमा थुप्रै संघर्ष गरेकी थमसारको अबको योजना गाउँपालिकालाई विभेदरहीत बनाउने छ।  छोराछोरीबीचको विभेदकै कारण बाल्यकालमा धेरै समय पढ्न नपाएकी थमसरा भन्छिन्, ‘छोराछोरी समान हुन्, पहिले सबैले शिक्षा पाउनुपर्छ। तब मात्र समाज समुन्नत हुन्छ।’

हुन त अहिले पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने चलन रहेको उनी बताउँछिन्। छोराछोरीबीचको लैंगिक विभेद अन्त्यका लागि सचेतामूलक कार्यक्रम आवश्यक रहेको  थमसराको बुझाइ छ।

थमसराको जीवन–संघर्ष 

थमसराको जीवन पनि संघर्षपूर्ण नै छ। सानै उमेरमा कक्षा ५ उत्तीर्ण गरेर पढाइलाई बिट मारेकी थिइन्, उनले। 

२०३९ सालताकोे बाल्यकाल स्मरण गर्दै थमसरा भन्छिन्, ‘गाउँ नजिक स्कुल थिएन। छोरीलाई पढाउनैका लागि टाढा पठाउदैनथे। त्यही भएर पढाई छोडे।’  उनले कयौं वर्ष गोठालो जीवन बिताइन्। 

तर, पछि गएर गाउँमै मावि खुलेपछि थमसराले २५ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भइन्। त्यतिखेर कक्षा उत्तीर्ण भएकाले अनमी पढ्न पाइन्थ्यो। त्यही लाललचमा कक्षा ८ मा भर्ना भएकी थमसरा उत्तीर्ण त भइन्, कक्षा ८ उत्तीर्ण पछि अनमीमा भर्ना हुने नियम खारेज भयो।  

‘मलाई एसएलसी उत्तीर्ण गर्ने हुटहुटी जाग्यो,’ उनले भनिन्, ‘किसानी माविबाट २०५० मा एसएलसी दिएँ।’ तर, उत्तीर्ण भइनन्।

दुई वर्ष एसएलसी दिँदा पनि उत्तीर्ण नभएपछि थमसराले विद्यालय नै परिवर्तन गरिन्। जनप्रिय माविबाट प्राइभेटबाट २०५४ मा एसएलसी उत्तीर्ण गरेपछि उनको एउटा सपना पूरा भयो– सीएमए पढन थालिन्।

दमौली बजारमा रहेको गण्डकी टेक्निकल सेन्टरबाट सीएमएको १५ महिने कोर्ष गरेपछि थमसराले एक वर्ष स्थानीय गैरसरकारी संस्थामा जागिर पनि खाइन्।

अब प्रवीणता तह पढनुपर्छ लाग्यो, उनलाई। थमसरा पढ्न भनेर काठमाडौं पुगिन्। घरमा दिदीबहिनी थिएनन्। दाइभाइ विवाह गरेर अलग बसिरहेका थिए। आमाबुवाको स्वीकृतिमा उनले काठमाडौंको पद्मकन्या क्याम्पसबाट प्रवीणता तह उत्तीर्ण गरिन्, २०६० मा ।

कखरा सिकेकै स्कुलको प्रधानाध्यापक

सानै उमेरमा पढाईलाई बिट मारेकी थमसराको संयोग के बन्यो भने उनी कखरा सिकेको स्कुलकै प्रधानाध्यापक बनिन्। पद्मकन्याबाट प्रवीणता तह उत्तीर्ण गरेपछि आफूले कखरा सिकेको चन्द्रोज्योतिमै शिक्षक बनिन्, २०६२ मा।

शिक्षण पेशा थालेपछि उनले बागलुङ बजारमा रहेको धौलागिरी बहुमुखी क्याम्पसबाट स्नातक गरिन्। २०६८ मा निमावि राहत दरबन्दीमा नियुक्त भइन्। उनले २०७० देखि २०७४ वैशाख ९ गतेसम्म प्रधानाध्यापक पद सम्हालिन्।तर, स्थानीय तहको निर्वाचन हुने भएपछि उनले पदबाट राजीनामा दिइन्।

अखिल नेपाल महिला सघंकी जिल्ला अध्यक्ष रहेकी थमसराको अबको लक्ष्य धौलागिरीलाई विकासको बाटोमा डोर्याउदै पर्यटकीय गन्तव्य बनाउने रहेको छ।

उनले भनिन्, ‘अधुरो रहेको स्नातकोत्तरको अध्ययन पूरा पनि गर्ने सपना छ।’ 
 


 

More form the Internet

loading...