Suvadin, Home

स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय।

काठमाडौँ, कात्तिक १३ — आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। 
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले साेमबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याउनुभयो। 

त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए। 

त्रिवि मानविकी संकायका डिन प्रा डा शिवलाल भुसालले विदेशीले विभिन्न स्वार्थ र आशयबाट गरिएका मुलुकलाई गरेका सहयोगलाई बन्द गरी पूर्वाधार निर्माण तथा संरचनागत विकासमा स्थानीय तहलाई सहभागी गराउनुपर्नेमा जोड दिए। 

कार्यक्रमका संयोजक प्रा डा हेमराज सुवेदीले सामाजिक न्याय र वितरण प्रणालीमा सन्तुलन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्दै गएको त्यसलाई न्यूनीकरण नगरी विकास सम्भव नरहेको विचार व्यक्त गरे। 

उक्त कार्यक्रममा नरबहादुर थापाले शान्ति निर्माणमा आर्थिक नीतिको भूमिका, डा खड्ग केसीले वैदेशिक नीति र प्रा विन्दु पोखरेलले नेपालमा द्वन्द्वपछिको शान्ति प्रक्रियामा महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरे। रासस


 

More form the Internet

loading...