Suvadin, Home

ट्रम्प ट्वीट डिलिट गर्न किन बाध्य भए ?

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ट्विटर अति प्रिय माध्यमका रुपमा रहँदै आएको छ । आफ्ना महत्वपूर्ण घोषणा, योजना तथा रणनीतिहरु यही माध्यमबाट प्रस्तुत गर्छन् ।

त्योभन्दा बढी आफ्ना आलोचक तथा विपक्षी विरुद्धका टिप्पणीका लागि ट्रम्पले ट्वीटरलाई प्रयोग गर्ने गरेका छन् । ट्रम्पको सबैभन्दा ठूलो ‘शत्रु’ सञ्चारमाध्यम र पत्रकार हुन् । उनले बारम्बार पत्रकार तथा सञ्चार माध्यमलाई आलोचना गर्ने गरेका छन् ।

आफ्नो विपक्षमा लेख्ने वा बोल्ने सञ्चारमाध्यम र पत्रकारलाई उनले ‘फेक न्यूज’ भन्ने गरेका छन् । पछिल्लोपटक उनले पत्रकारलाई आक्रमण गरेर लेखेको ट्वीट डिलिट गर्न बाध्य भएका छन् ।

आइतबार ट्रम्पले पत्रकारको आलोचना गरेर शृङ्खलाबद्ध ट्वीट गरेका थिए । त्यसमा उनले नोबेल पुरस्कार विजेता पत्रकारले सो पुरस्कार फिर्ता गर्नु पर्ने माग गरेका थिए । तर ट्रम्प यसमा चिप्लिए, उनलाई पत्रकारले राम्रो काम गरे बापत पाउने पुरस्कारको नामै थाहा रहेनछ ।

नोबेल पुरस्कार पत्रकारका लागि छैन । रसायनशास्त्र, अर्थशास्त्र, भौतिकशास्त्र, स्वास्थ्य विज्ञान र साहित्यबाहेक समग्र क्षेत्रका लागि प्रदान गरिने नोबेल शान्ति पुरस्कार पनि छ । नोबेल शान्ति पुरस्कार विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने वा शान्तिको पक्षमा वकालत गर्नेलाई प्रदान गरिन्छ । यसको अर्थ स्पष्ट रुपमा पत्रकारका लागि नोबेल पुरस्कारको व्यवस्था छैन ।

ट्रम्पले भन्न खोजेको शायद पुलित्जर पुरस्कार हुन सक्छ, जुन हरेक वर्ष पत्रकारिताका विभिन्न विधामा प्रदान गरिन्छ । ट्रम्पले आइतबार गरेको ट्वीट अनुसार उनलाई नोबेल पुरस्कार र पुलित्जर पुरस्कारबिचकै भिन्नता थाहा नभएको देखियो ।

उनले ट्वीटमा रुसले अमेरिकाको सन् २०१६ को चुनावमा दखल दिएको भन्ने सम्बन्धमा गरेको रिपोर्टिङ्गका लागि पाएको ‘नोबेल पुरस्कार’ फिर्ता गर्नु पर्ने उल्लेख गरेका हुन् । केही समयपछि उनले सो ट्वीट डिलिट गरेका छन् ।


 

More form the Internet

loading...