Suvadin, Home

स्थानीय निर्वाचन
‘ललितपुरलाई नमूना महानगर बनाउँछु’

निर्वाचनको बेला भोट माग्न घर-घर पुग्दा राजधानीमा भए पनि ललितपुर विकासबाट धेरै पछि परेको अनुभव मसँग छ। यहाँ धेरै समस्या छन्। कतिपय एम्बुलेन्स हिँड्ने बाटोसमेत गाउँमा छैनन्। गाउँ-गाउँमा बिरामीलाई समयमै अस्पताल पुग्न समस्या छ। ललितपुरका खोकनामा अहिलेसम्म जनता लालपूर्जाबिना बसिरहेका छन्। बिरामी हुँदासमेत जग्गा धितो राखेर पैसा निकाल्न पाइरहेका छैनन्।
उर्मिला केसी नेपाल।

वि.सं.२०४२ सालको सत्याग्रहमा तेह्रथुम जिल्लाबाट नेपाल विद्यार्थी संघमार्फत् राजनीति थालेकी उर्मिला केसी नेपाल २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय छिन्। बिपीको सिद्धान्तलाई आत्मसात गर्दै राजनीतिमा लागेको बताउने उनले २५ वर्ष नेपाली कांग्रेस पार्टीमा क्रियाशिलता देखाइसकेकी छिन्।

आइएसम्म अध्ययन गरेकी उनी वि. सं. २०४६ सालको जनआन्दोलनपछि महिला संघको सभापति, नेपाली कांग्रेस ललितपुर कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य छिन्। ललितपुर खुमलटारमा स्थायी बसोबास रहेकी उनले व्यक्तिगत रुपमा पनि सामाजिक गतिविधि गरिरहेकी छिन्।

४८ वर्षीया उनी वि.सं.२०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ ललितपुर जिल्लाको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी थिइन्। तर, उनी आफै चाहिँ आरक्षण विरोधी महिला हुन्। महिला तथा ती वर्ग र समुदायलाई प्रतिस्पर्धा गर्ने क्षमता कमजोर बनाइएकोले आरक्षणलाई बन्द गर्नुपर्ने पक्षमा उनी उभिएकी छिन्।

आउँदो वैशाख ३१ गते तय भएको स्थानीय निकाय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा छिन्, उर्मिला। व्यवस्थित र सुविधा सम्पन्न साथै नमूना महानगर बनाउने उनको योजना छ। निर्वाचनकै विषयमा केन्द्रित रहेर उनीसँग शुभदिनले गरेको कुराकानी प्रस्तुत छ :

तपाईं मेयर पदमा किन उठ्दै हुनुहुन्छ?

लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा विकास निर्माणदेखि धेरै कुराहरू भद्रगोल छन्। संविधान र संघीयताको कार्यान्वयन पनि यही निर्वाचनबाट हँुदैछ। महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने देखाउनका लागि मैले उम्मेद्वारी दिन लागेकी हुँ।

पार्टीले तपार्इंलाई टिकट दिने आधारहरू के-के हुन्?

मैले पार्टीको विभिन्न तह र भूमिकामा रहेर योगदान दिएकी छु। मैले स्थानीय तहमा जेजति जनताको मन जितेर लोकप्रियता आर्जन गरेकी छु, त्यो कुरा पार्टीले विचार गर्नुपर्छ। मैले मेरो पूरै समय राजनीतिमै खर्चिएकी छु। म सामाजिक कामबाट पनि जनताको दुःख सुखमा सक्दो मलम लगाउने काम गरिरहेकी छु। नेवार समुदायको गुठीको कार्यक्रमदेखि भूकम्प र अरु विपत्तिमा पनि उनीहरूको दुःखमा सक्दो योगदान दिँदै आएकी छु।

स्थानीय तहमा मैले व्यक्तिगत खर्च गरेर पनि विकासका काम गरिरहेको छु। जनतालाई अप्ठ्यारो परेको बेला मैले काम गरेको र जनतामाझ राम्रोसँग भिजेको कारणले मैले पूरै साथ पाउने छु। म महिला भएको र यो क्षेत्रमा म जतिको क्षमता भएका हाम्रो पार्टीबाट अरु कोही नभएकाले पनि पार्टीले मलाई टिकट दिने छ भन्नेमा म विश्वस्त छु।

ललितपुर महानगरपालिको विकास गर्न तपाईंसँग के-कस्ता एजेण्डा छन्?

महानगरपालिकाभित्र कुन गाउँ कुन टोलमा केकस्ता समस्याबाट जनताहरू अल्झिरहेका छन्। सम्बन्धित जनता र निर्वाचित प्रतिनिधिहरूबीच बसेर उनीहरूलाई फाइदा हुने योजना तर्जुमा गरी छिटो छरितो काम गर्ने मेरो योजना छ।

महानगरपालिकाभित्र के-के समस्याहरू छन्?

म समानुपातिको निर्वाचनको बेला भोट माग्न हरेकको घरघरमा पुग्दा राजधानीमा भए पनि ललितपुर विकासबाट धेरै पछि परेको अनुभव भयो। यहाँ धेरै समस्या छन्। एम्बुलेन्स हिँड्ने बाटोसमेत कतिपय गाउँमा छैनन्। त्यसकारण गाउँगाउँमा बिरामीले समयमा अस्पताल पुग्न समस्या छ। ललितपुरका खोकनामा अहिलेसम्म जनता लालपूर्जाबिना बसिरहेका छन्। उनीहरू बिरामी हुँदासमेत जग्गा धितो राखेर पैसा निकाल्न समेत पाइरहेका छैनन्। स्थानीय निर्वाचन नभएको अवस्थामा विकास ठप्प छ। विद्यालय, बाटो, ढलनिर्माण खानेपानीलगायत कुरा नै यहाँको प्रमुख समस्या हो। नेवार समुदायका महिलाहरू परम्परागत रुपमा चलिरहेका छन्। उनीहरूमा चेतना जगाउन जरुरी छ। मान्छे मर्दा उनीहरूलाई मलामी जाने बाटो समेत राम्रो छैन।

राजधानीमा रहेको र सुगम ठाउँमा पनि यतिधेरै समस्या जनताहरूले भोगेको देख्नु पर्दा आफैंलाई दुःख लाग्छ। यी र यस्ता समस्याहरूलाई  समाधान गर्दै सिंगो महानगरको स्वरुप फेर्ने मैले कोसिस गर्ने छु। फोहोर मैलाले पनि वातावरण प्रदूषित बनेको छ। नगरबासीहरूले नगरभित्र न्यूनतम सेवा सुविधा पनि पाउन मुस्किल छ।

उम्मेदवार भएर निर्वाचनमा भाग लिँदा कुनकुन दलसँग प्रतिस्पर्धा गर्नुपर्ला त?

हाम्रो एमालेसँग कडा प्रतिस्पर्धा हुन्छ।

तपार्इंले निर्वाचन जित्ने आधारहरू के-के छन्?

२०७० सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले जितेको छ। हिजोको प्रभाव यो क्षेत्रमा कायम छ। हाम्रो मतहरू एक मत पनि यताउता चलेको छैन। पार्टी एक भएर अगाडि बढ्यो भने हामीलाई कसैले हल्लाउन सक्दैन। यो क्षेत्रमा पार्टीले जनताको मन जित्ने काम गरिहेको छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट आएको बजेट पनि जनताको चाहना अनुरुप विकास निर्माण कार्यमा खर्च भइरहेको छ।

यो क्षेत्रमा चुनावी माहोल कस्तो छ त?

चुनावी माहोल विस्तारै तात्दै छ। घरदैलो कार्यक्रम चाहिँ गरिएको छैन। तर, व्यक्तिगत रुपमा चाहिँ भेटघाट बाक्लो बनिरहेको छ। पार्टीले निर्वाचनको तयारीका लागि विभिन्न ठाउँमा दिएको जिम्मेवारी अनुरुप अन्तरक्रिया कार्यक्रम पनि हामीले सम्पन्न गरिसकेका छौं।

मेयर पदमा जितेमा महानगरलाई कस्तो बनाउने तपाईंको योजना छ?

चुनाव जितेपछि महानगरपालिकामा हुनुपर्ने पूर्वाधारले सम्पन्न बनाउने मेरो पहिलो काम हुनेछ। व्यवस्थित नगरको रुपमा विकास गर्नेछु। काठमाडौं महानगरभन्दा उत्कृष्ट पार्ने मेरो योजना छ। व्यवस्थित नगर बनाउने योजना छ। त्यसका लागि मैले शिक्षा, स्वास्थ्य, बाटोघाटो, प्रदूषणमुक्त बनाउने काम गर्नेछु।

बालउद्यान र खुल्ला ठाउँहरूको विकास गर्ने र फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनाएको छु। दमकल नजाने साँघुरो बाटोहरू पनि सुधार्ने मेरो योजना छ। घरहरूको निर्माण कार्य पनि व्यवस्थित ढंगबाट गराउने मेरो योजना छ। घर बहाल करलाई व्यवस्थित गरी विकासमा लगाउने छु। सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गर्ने पनि मेरो योजना छ।

स्थानीय तहमा महिलाहरूले किन नेतृत्व लिनुपर्छ?

स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत महिलाहरू प्रतिनिधित्व हुनुपर्ने कानुनी व्यवस्था छ। महिलाहरूले अवसर नपाउँदा पछाडि परेको अवस्था हो। नयाँ संविधान बनेको छ। तर, त्यसको कार्यान्वयन चाहिँ बल्ल हुन लागेको छ। तर, महिलाहरू राजनीति गर्न फिल्डमा आउन निकै गाह्रो छ। उनीहरू आफंै सशक्त छैनन्। तालिमको आवश्यकता छ। तर, पार्टी र सरकारले त्यो विषयमा ध्यान दिएकै छैनन्।

विभिन्न जातजातिका महिलाहरूलाई संघीयता भनेको हो। संविधानमा के कस्ता व्यवस्था छन्। हामी किन संघीयतामा जाँदैछाैं भन्नेसम्मका ज्ञान उनीहरूमा छैन। संघीयतामा स्थानीय तहमा के-कति अधिकार प्रदान गरिएको छ त्यसको ज्ञान छैन।

त्यसकारण महिलाहरूलाई अहिले स्थानीय तहको निर्वाचनका बेला प्रतिनिधि छान्नुअगाडि उनीहरूलाई तालिमको आवश्यकता छ। त्यसको व्यवस्था गर्नुपर्छ। नत्र सक्षम व्यक्ति उम्मेदवार पाउन पनि जनतालाई गाह्रो पर्ने छ। नेतृत्व क्षमता तलदेखि नै विकास हुनुपर्छ। तर, यहाँ समानुपातिकका कारण यहाँ समस्या सिर्जना भइरहेको छ। आफ्नो ठाउँ सुरक्षित भइहाल्छ भनेर सुरक्षित भएर बस्ने प्रवृत्तिले उनीहरूको क्षमता विकास हुन सक्दैन।

अबका दिनमा आरक्षण चाहिँ हटाउनुपर्छ। जुन समुदाय वा वर्ग प्रतिस्पर्धा यसले रोकेको छ। महिलाहरूको क्षमता विकासमा प्रश्न तेस्र्याइदिएको छ। आशे प्रवृत्ति बढेको छ। यसले त्यही वर्गलाई नोक्सान पुर्याइएको छ। स्थानीय तहमा खुल्ला प्रतिस्पर्धाबाटै महिलाहरू नेतृत्वमा आएको खण्डमा विकास र अरु कुरा अगाडि बढ्न सक्छन्।


 

More form the Internet

loading...