Suvadin, Home
 राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा विवाद देखा परेको छ। तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुबै संगठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवकमा एकता हुनसकेको छैन।

काठमाडौं, माघ ९-  राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा विवाद देखा परेको छ। तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुबै संगठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवकमा एकता हुनसकेको छैन।

दुबै दल एकीकृत भएको करिब दुई महिना भइसकेको छ। अब महिना दिनभित्रै महाधिवेशन सम्पन्न गर्नका लागि तयारी गरिएपनि दुबै संगठनले एकअर्काको अस्तित्व र नेतृत्व स्वीकार्न नसकेका कारण समस्या देखिएको हो।

पार्टी केन्द्रीय नेतृत्वले दुबै संगठनबीच बढेको विवाद टुंगो लगाउन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन समन्वय समिति गठन गरेको छ। उक्त समितिको संयोजकको जिम्मेवारी पार्टीका नेता प्रदीप उदयलाई दिइएको छ।

दुबै पार्टी एकीकरण हुन अगाडि राप्रपा निकट संगठनका अध्यक्ष दीपक राई थिए। राप्रपा नेपाल निकट संगठनका अध्यक्ष प्रकाश रिमाल थिए। राई अध्यक्ष भएको संगठनको निर्वाचन नभएको करिब पाँच वर्ष भइसकेको र रिमालको संगठनको करिब ६ महिना अगाडि निर्वाचन भएको थियो।

दुबै संगठनमा विवाद चुलिएपछि त्यसलाई समन्वय गरी नयाँ सहमति गराउन गठन गरिएको समितिका संयोजक उदयले यही माघको तेस्रो साताभित्र सहमतिमा दुबै संगठनलाई एकीकृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टी निकट अधिकांश संगठनको अधिवेशन सम्पन्न भइसकेको नेता देवेन्द्र प्रधानले जानकारी दिए। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा राप्रपाको महाअधिवेशन हुँदैछ। रासस


 

More form the Internet

loading...