संसद् अब प्रविधिमैत्री: मोबाइल एप सञ्चालनमा
काठमाडौँ, साउन १३– व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पुर्याउने लक्ष्यका साथ संसद् सचिवालयले ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।
यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ। सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन।
मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ। यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ।
संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ।
सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताइन्र
संसद् सचिवालयले प्रत्येक सांसदलाई एक÷एक वटा आइडी उपलब्ध गराउने र सोही आइडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो।
जननिर्वाचित संस्थालाई बढी भन्दाबढी पारदर्शी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गराउने र सम्पर्कको माध्यमलाई क्रमशः विस्तार गर्दै लाने लक्ष्यका साथ अगाडि बढिरहेको सभामुख घर्तीले बताइन्।
उनले भनिन्–“सांसदलाई पनि प्रविधिमैत्री बनाउन र त्यसको अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ नयाँ मोबाइल एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ।”
सभामुख घर्तीले जनताको माग र गुनासो सुन्न तथा सरकारलाई समस्या समाधानका लागि सचेत गराउनसमेत यस्तो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजैरुपमा हेर्न पाइने व्यवस्था गरिएको छ।
उनले नेपालको संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन गर्नैपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखिन।
सभामुख घर्तीले संसद्को यही कार्यकालमा संसद्को नयाँ भवन बन्ने सम्भावना नरहे पनि आगामी दिनमा व्यवस्थित र प्रविधिमैत्री संसद् भवनसमेत बन्ने अपेक्षा गरिन।
संसद्को आफ्नै भवन नभएकाले भाडामा बस्नुपरेको छ, उनले भनिन्, “संसद्को आफ्नै भवन होस्, आफ्नै टेलिभिजन च्यानल होस्, सांसदलाई आवास सुविधा होस्, हाम्रो त्यो चाहना पूरा गर्ने पहल पनि भइरहेको छ।”
सो अवसरमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत उच्च अधिकारीको सहभागिता थियो। रासस