Suvadin, Home

Cover Image

 अन्तर्राष्ट्रिय युवा दिवस : बहस - युवालाई सत्ता हस्तान्तरण खोई ?
हाम्रा नेताले सास रहुन्जेल सत्तामा बस्‍ने इच्छाशक्ति त्याग्‍न किन नसकेको ? 

आज अन्तर्राष्ट्रिय युवा दिवस । विश्वभर विभिन्‍न नारासहित युवा दिवस मनाइँदै छ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । सोमबार विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवाले दिवस मनाइरहेका छन् । 

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।  

युवालाई स्थान दिनुपर्छ, दक्ष बनाइनुपर्छ र विदेशमा गएका नेपाली युवाहरुलाई फिर्ता बोलाउनुपर्छ भन्‍ने भाषण, सम्बोधन तथा प्रतिवेदनहरु सार्वजनिक गरिन्छन् । तर, नेतृत्व हस्तान्तरण, युवाप्रतिको विश्वास र सत्ताले युवलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । विश्वमा अहिले तेस्रो पुस्ताले सत्ता सञ्‍चालन गरिरहँदा नेपालमा भने अहिलेसम्म पनि त्यही ७० कटेकाहरु पदका खिचातानी गरिरहेका छन् । यी यावत कारणहरुले गर्दा युवाहरुको राजनीतिप्रति वितृष्णा, विदेश पलायन र राजनीतिक अस्थिरता भइरहेको छ । 

सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बच्चै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ उन त्यतिबेला जन्मिएकै थिएनन् । बीबीसीका अनुसार, खनाल महासचिव भएको कम्तीमा एक वर्षपछि सन् १९८३ वा १९८४ मा जन्मिएका किम अहिले संसारकै शक्तिशाली नेताको सूचीमा छन् । 

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डिन सन् १९८२ मा एक वर्षकी थिइन्, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों चार, ग्रीकका प्रधानमन्त्री एलेक्सिस् सिप्रास् सात र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रडु दश वर्षका रहेछन् । ग्रीस गम्भीर आर्थिक संकटमा परेका बेला प्रधानमन्त्री बनेका ४० वर्षे सिप्रास्ले मुलुकको समस्या समाधानतर्फ उल्लेख्य प्रगति गरेर देखाइसकेका छन् भने उता, ट्रडु र म्याक्रोंले पनि नेतृत्वमा पुगेको केही समयमैं आआफ्ना मुलुकमा उल्लेख्य प्रगति गरिसकेका छन् । 

देउवा पहिलोपटक प्रधानमन्त्री बनेको १३ वर्षपछि राष्ट्रपति बनेका अमेरिकाका वाराक ओबामाले पदबाट अवकास लिएको करिब चार वर्ष कट्न लागिसक्यो । उनले सफल रूपमा दुई कार्यकाल पूरा गरी एक अत्यन्त लोकप्रिय नेताका रूपमा ह्वाइट हाउसबाट बिदा भए । हामीले नेपालमा युवानेता भन्ने गरेका केही नेताहरूकै दौँतरीजस्ता देखिने ५७ वर्षे ओबामा दुई छोरी, श्रीमती र परिवारका अन्य सदस्यसँग रमाइलो जिन्दगी बिताइरहेका छन् । 

सन् १९९५ मा देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा उनका समकक्षी थिए- भारतमा पिभी नरसिंह राव र बेलायतमा सर जोन मेजर। त्यतिबेला अमेरिकी राष्ट्रपति थिए, बिल क्लिन्टन र चीनमा जियाङ जेमिन थिए। त्यसपछि भारतमा एचडी देवेगौडा, इन्दरकुमार गुजराल, अटलबिहारी वाजपेयी, मनमोहन सिंह र अहिले नरेन्द्र मोदी प्रधानमन्त्री बनिसकेका छन्। त्यसयता, बेलायतमा टोनी ब्लेयर, गोर्डन ब्राउन र डेभिड क्यामरन र टेरिजा मेले आफ्ना कार्यकाल पूरा गरिसकेका छन्।

राप्रपा अध्यक्ष कमल थापा सन् १९८६ (वि.सं २०४३) मा पहिलोपटक मन्त्री हुँदा अमेरिकाका राष्ट्रपति थिए- रोनाल्ड रेगन। त्यतिबेला थापा ३० वर्षका थिए । त्यसयता उनी कहिले मन्त्री, सांसद, विपक्षी नेता, पार्टी प्रमुख वा अन्य कुनै न कुनै भूमिकामा ३२ वर्षसम्म निरन्तर राष्ट्रिय राजनीतिमा हालिमुहाली गरिरहेकै छन् । अहिले संवैधानिक राजतन्त्र र हिन्दु राज्य हुनुपर्छ भन्ने मुद्दा समाएर राजनीति गरिरहेका थापा निर्दलीय पञ्चायती व्यवस्था, २०४६ पछिको बहुदलीय व्यवस्था, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र हालको धर्मनिरपेक्ष गणतन्त्रात्मक व्यवस्था सबैमा गरी पटकपटक शक्तिशाली मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका छन्।

तत्कालीन जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल विस २०५१ सालदेखि आजका मितिसम्म पनि पार्टी नेतृत्वमै छन् । साढे दुई दशकसम्म एकै व्यक्तिले पार्टी कब्जा गर्‍यो । प्रचण्डले युद्धको थालनी गर्दा जन्मिएको बालक अहिले युवा अवस्थामा छ र मुलुकको कुनै न कुनै तहमा नेतृत्व गर्न सक्षम भइसकेको छ । तर, उसलाई अवसर र स्थान दिनु त कता हो कता, उल्टै दबाउने र खुट्टा तान्‍ने यत्‍नहरु हुन्छन् । फलस्वरुप विरिक्तिएर मुलुक छोड्नु उसको बाध्यता बन्छ । 

एसियालगायत अन्य केही व्यवस्थित मुलुकमा कसरी निश्चित प्रणालीका आधारमा राजनीतिक नेतृत्व युवालाई हस्तान्तरण हुन्छ भन्‍ने विषयको झलकमात्रै हो माथिको प्रसंग । तर, नेपालमा भने हरेक दलमा निश्चित व्यक्तिहरू नै दल र सरकारको नेतृत्व कसरी वर्षौं कब्जा गरिरहेका छन् । यी मुलुकमा राजनीति, राज्यसंयन्त्र, अर्थतन्त्र वा प्रशासन निश्चित नीति, सिद्धान्त तथा स्थापित अभ्यासका आधारमा चल्छन् । त्यसैले ती मुलुकले प्रगति गरेका छन्। ती मान्यतालाई उनीहरूले बिरलैमात्र उल्लंघन गरेका हुन्छन्।

नेपाली राजनीतिज्ञमा 'गन्हाउने' भइसक्दा पनि सत्ता लिप्सा र कुर्सी मोहका कारण युवामा आशाभन्दा बढी निराशा र सकारात्मकभन्दा बढी नकारात्मक आवेगले स्थान बनाउन पुगेको छ । जसकै कारण पनि वितृष्णा उत्पन्‍न हुने र विभिन्‍न अपराधजन्य क्रियाकलापमा संलग्‍न भएको पाइन्छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा अपराधा संलग्‍न हुनेहरुमा युवाको संख्या अत्यधिक छ । 

देउवा, नेपाल, ओली, दाहाल, खनाल, थापा तथा भट्टराईजस्ता नेताको अनुभव देशका लागि पक्कै महत्वपूर्ण हुन्छ । तर, त्यसका लागि के उनीहरू सत्तामैं टाँसिरहनै पर्ने वा प्रधानमन्त्री वा राष्ट्रपति जस्तो पदबाहेक अन्यत्र रहेर त्यो अनुभवको सदुपयोग गर्न सकिँदैन त? सकिन्छ । तर, नेपाली नेतामा त्यो इच्छाशक्ति र जाँगर देखिएन।
नेपालमा नेतृत्वको हस्तान्तरण र युवा पुस्ताको सल्लाहकार बनेर बस्‍न सक्ने इच्छाशक्ति देखाउन अहिलेको नैतृत्व तयार भयो भनेमात्रै युवा दिवस र युवा पुस्ताका पक्षमा गरिएका वकालतहरु सही र सार्थक हुन्छन् । 


 

More form the Internet

loading...