Suvadin, Home

Cover Image

अनुमतिबिनै सगरमाथा चढ्ने डेभीको प्रयास बिफल

दक्षिण अफ्रिकी नागरिक रयान सन डेभी। तस्बिरः उनकाे फेसबुकबाट

काठमाडाैं, वैशाख २७–अनुमतिबिना नै सगरमाथा चढ्न खोज्ने दक्षिण अफ्रिकी नागरिक रयान सन डेभीको  प्रयास असफल भएको छ। 

सगरमाथा चढ्न  ११ हजार अमेरिकी डलर दस्तुर तिरेर अनुमति लिनुपर्ने भएपनि  दस्तूर नतिरिकनै  आरोहणको प्रयास थालेका  डेभीलाई नेपाली अधिकारीले नियन्त्रणमा लिएर राहदानी जफत गरेका हुन्। उनी एक्लै ७३ सय मिटरको उचाइमा पुगेर एक गुफामा लुकिरहेको बेला अधिकारीहरुले फेला पारेका हुन्। डेभीले माफी मागेका छन्। 

अधिकांश पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि एक जना पथप्रदर्शकसँगै लिएर जान्छन् भने आधार शिविरमा श्रोतसाधन सम्पन्न सहयोगी समूह साथै राख्ने गर्छन्। तर,उनले भने आधार शिविर नजिकै दुई जना पर्वतारोहण कर्मचारीलाई गत शुक्रबार छल्ने प्रयास गरेको बीबीसीले जनाएको छ। 

त्यसपछि उनीहरुले उनलाई पछ्याए र अरुले पत्ता लगाउन नसक्ने गरी एउटा गुफामा आफ्ना लागि उनले बनाएको अस्थायी बासस्थान फेला पारे। डेभीले भने आफूसँग रकम नहुँदा त्यस्तो विकल्प अपनाएको बताएका छनु्। 
आफ्नो ’सगरमाथाको गोप्य आरोहण’ विफल बनाइएको भएपनि उक्त प्रयासबाट दुखी भएका सबैसँग माफी माग्न चाहेको बताएका छन्।

आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोसम्म एक्लै पुग्ने प्रयास गर्नुलाई एकदमै दुर्लभ घटना मानिन्छ।
 
 


 

More form the Internet

loading...