Suvadin, Home

पचास करोड वर्षअघिबारे के तपाईं अनुमान गर्न सक्नुहुन्छ ?
जीव अवशेषः जो ५० करोड वर्षअघि पृथ्वीमा बस्थे

एजेन्सि,चैत्र ११ -  वैज्ञानिकहरूलाई वर्तमान र भविष्यको जति चासो हुन्छ, इतिहासको गर्भमा बिलाइसकेका वस्तुहरू पनि उनीहरू उत्तिकै खोजबिन गरिरहेका हुन्छन्।

यो त्यस्तै एउटा वैज्ञानिक खोजबिनको कथा हो, जसले आजभन्दा ५० करोड वर्षअघि पृथ्वीमा पाइने जीवहरूको झलक दिन्छ।

पचास करोड वर्षअघि भनेको कति हो ? के तपाईं अनुमान गर्न सक्नुहुन्छ ?

भूगर्भविद्हरूले कुनै समय यो पृथ्वीमा धर्तीको एक डिक्का थियो र त्यसलाई चारैतिर एउटै महासागरले घेरेको थियो भनेका छन्। त्यतिबेला हाम्रो धर्ती अहिलेजस्तो एसिया, युरोप, अमेरिकाजस्ता सात महादेशमा बाँडिएकै थिएन ।

यो भनेको ३० करोड वर्षअघिको कुरा हो । अर्थात्, जुन वैज्ञानिक खोजको हामी यहाँ चर्चा गर्दैछौं, त्यो महादेश उत्पन्न हुनुभन्दा अघिको हो । जतिबेला धर्ती टुक्रिएकै थिएन।

महादेशहरू नै नबनेको त्यो समय हिमालय उत्पत्ति हुने कुरै भएन ।

२०७२ को भुइँचालो बेला हामीले इन्डियन प्लेट र युरेसियन प्लेटको ठक्करले हिमालय शृंखला उत्पन्न भएको खुब सुन्यौं । आज हामीले गर्व गर्ने सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमशृंखला त्यही दुइटा प्लेटको ठक्कर र घर्षणको देन हो ।

के तपाईंलाई हिमालय बन्ने क्रम कहिलेबाट सुरु भयो, थाहा छ ? जम्मा पाँच करोड वर्षअघि ।

अर्थात्, जुन वैज्ञानिक खोजको हामी कुरा गर्दैछौं, त्यो हिमालय पर्वत शृंखला बन्नुभन्दा अघिको हो ।

प्राग् मानवशास्त्रीहरू जीव विकासक्रमसँग जोडिएको रहस्य फुकाउन पृथ्वीको गर्भमा लुकेर बसेका जीव तथा वनस्पतिका अवशेष (फोसिल) खोज्दै हिँड्छन्।

यस्तै खोज क्रममा हालै चीनमा ५१ करोड वर्ष पुराना जीव अवशेष भेटिएको बिबिसीले जनाएको छ।

दक्षिणी चीनको हुबे प्रान्तमा पर्ने दान्शुई नदी किनार फेला परेका अवशेषमा जेलीफिस, स्पन्ज, एल्गी, एनिमोनेस लगायत समुद्री जीवहरू छन् । यो ठाउँ राजधानी बेइजिङबाट १ हजार १ सय २७ किलोमिटर दक्षिण–पश्चिम पर्छ ।

यी अवशेष कतिसम्म सग्ला छन् भने, तिनका आँखा, सास फेर्ने ‘गिल्स’, मुख र जीउका साना तन्तुहरू हाम्रा नांगा आँखाले प्रस्टै छुट्टयाउन सक्छन् ।

चीनको हुबेमा अनुसन्धानरत् वैज्ञानिकहरूले २० हजारभन्दा बढी छुट्टाछुट्टै अवशेष फेला पारेका थिए । तीमध्ये ४ हजार ३ सय ५१ वटाको विश्लेषण पूरा भएको छ। ती अवशेष १ सय १ थरीका जीवको भएको उनीहरूको निष्कर्ष छ। यसमध्ये ५३ वटा जीवका अवशेष यसअघि कतै भेटिएका थिएनन्।

हामी अहिले बसोबास गर्ने पृथ्वीमा ५० करोड वर्षअघि कस्ता खालका जीव बस्दा रहेछन् भन्ने थाहा पाउन यो खोजलाई वैज्ञानिक ‘कोशेढुंगा’ मानिएको छ।

‘पृथ्वीमा जीवको विकासक्रम अध्ययन गर्न यो अहिलेसम्मकै सबभन्दा महत्वपूर्ण स्रोत हो,’ अनुसन्धानमा संलग्न चीनको नर्थवेस्ट विश्वविद्यालयका प्राध्यापक जिङलियाङ झाङलाई उद्धृत गर्दै बिबिसीले भनेको छ।

उनका अनुसार अधिकांश अवशेष नरम खालका जीवका हुन्, जसको अवशेष हत्तपत्त रहँदैन।

सामान्यतया कडा खालका वस्तुको मात्र अवशेष रहन्छ। यसमा जीवजन्तुका हाडखोर वा वनस्पतिका डाँठ पर्छन् । यस्ता वस्तु कुहिन समय लाग्ने हुँदा अवशेषका रूपमा रहन्छन् ।

जेलीफिस, स्पन्ज, एल्गीजस्ता नरमखाले जीव भने कुहिएर बिलाएर जान सजिलो हुन्छ । त्यही भएर नदी किनारको मलिलो ठाउँमा यति सानो जीवको यति पुरानो अवशेष फेला पर्नुलाई वैज्ञानिकहरूले ‘चमत्कार’ भनेका छन् ।

‘हामी आफैं चकित छौं,’ अनुसन्धानमा संलग्न क्यालिफोर्नियास्थित पोमोना कलेजका भूगर्भविद् रोबर्ट गिन्सलाई उद्धृत गर्दै गार्डियन लेख्छ, ‘यस्तो अवशेष मैले कहिल्यै देखेको थिइनँ ।  यो जीव विकासक्रम अध्ययनकै निम्ति कोशेढुंगा हो ।’

अवशेषका रूपमा फेला परेका यी जीव ‘क्याब्रियन’ कालखण्डका हुन् । त्यो भनेको ५४ करोड वर्षअघिको समय हो । त्यतिबेला पृथ्वीको जैविक विविधता व्यापक रहेको वैज्ञानिकहरूको अनुमान छ।

समयक्रममा कुनै किसिमको विस्फोटनले ती जीव नष्ट भएका हुनसक्ने वैज्ञानिकहरूले बताउँदै आएका छन्। यसलाई ‘क्याब्रियन’ विस्फोटन भनिन्छ ।

पृथ्वीको विकासक्रममा यस्तो विनाशलीला धेरैचोटि भएका छन् । धर्तीमा कुनै बेला राज गर्ने डायनासोर लोप हुनुमा त्यस्तै विनाशलीलालाई जिम्मेवार मानिन्छ ।

वैज्ञानिकहरूले एक वर्षअघि अन्तर्राष्ट्रिय जर्नल ‘साइन्स’ मा प्रकाशित गरेको शोधपत्रअनुसार लगभग ६ करोड ६० लाख वर्षअघि एउटा उल्कापिण्ड मेक्सिकोको युकातान प्रायद्वीपमा खसेको थियो ।

त्यसले पृथ्वीको सतह र वायुमण्डलमा यति ठूलो विनाशलीला मच्चायो, त्यतिबेला पृथ्वीमा पाइने भीमकाय जन्तु डायनासोर लोपै भएर गए । अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणीहरू मात्र मुश्किलले बाँच्न सफल भएका थिए ।

चीनको हुबेमा फेला परेका जीव पनि त्यस्तै कुनै विनाशलीलाका शिकार हुन सक्छन् ।

‘क्याब्रियन’ विस्फोटनको कारण के थियो भन्नेबारे वैज्ञानिकहरूबीच फरक–फरक धारणा पाइन्छ ।

पृथ्वीको सतहमुनि रहेका भूखण्ड ९प्लेट० टुक्रिएर छुट्टाछुट्टै महादेश बन्ने क्रममा उत्पन्न जलवायु परिवर्तनले ती जीवहरू नासिएका हुन सक्छन् भन्ने एकथरीको भनाइ छ ।

यो कालखण्डको सबभन्दा राम्रो अवशेष यसअघि क्यानडाको ५० करोड वर्ष पुरानो चट्टानमा फेला परेको थियो। चीनकै छेङजियाङमा पनि ५१ करोड वर्ष पुराना अवशेष भेटिएका थिए ।

यसपालि दान्शुई नदी किनार फेला परेका जीवहरू हिलेमाटोसँगै समुद्रको चिसो पानीमुनि धसिँदै गएको अनुमान गरिएको छ। यसले ती जीव कुहिने क्रम रोकिएको र अहिलेसम्म अवशेष सग्लै रहेको हुनसक्ने उनीहरूले बताएका छन् ।

अनुसन्धानमा संलग्न नरहेका डुर्हाम विश्वविद्यालयका प्राग् मानवशास्त्री मार्टिन स्मिथले पनि पछिल्लो खोजलाई ‘आश्चर्यजनक’ भनेका छन्।

‘हामीले टाइम मेसिनबाट ५० करोड वर्ष पुरानो क्याब्रियन कालको तस्बिर खिचेर ल्याउन सक्यौं भने पनि यी अवशेषभन्दा खासै फरक हुने छैनन्,’ उनले गार्डियनलाई भनेका छन्, ‘यी अवशेषबाट हामी जीव विकासक्रमको कथा भन्न सक्छौं।’

साना स्तरका जीवहरू विकास हुँदै कसरी आजको अवस्थासम्म आइपुगे भन्ने कथा उधिन्न यसले सहयोग गर्ने उनको भनाइ छ ।

वैज्ञानिकहरूका अनुसार केही अवशेष अचम्मलाग्दा छन्। नरम माटोमा पाइने जीव अहिले पनि केही मिलिमिटर मात्र लामा हुन्छन् । जबकि, यी अवशेषमा कतिपय जीवको लम्बाई चार सेन्टिमिटरसम्म पाइएको छ।

‘आजभन्दा ५० करोड वर्षअघि चार सेन्टिमिटर लामो जीव थियो भनेर कसैले अनुमान गरेका थिएनन्,’ लोजान विश्वविद्यालयका प्राग् मानवशास्त्री एलिसन ड्यालीले गार्डियनलाई भने।

उनका अनुसार यी अवशेष जीव विकासक्रमकै पहिलो कालखण्डका हुन् ।

‘मैले आफ्नो करिअरमा क्याब्रियन कालखण्डको झलक दिने यति राम्रो अवशेष देखेकै थिइनँ,’ ड्यालीले भने, ‘यो महत्वपूर्ण उपलब्धि हो ।’

( बिबिसीको समाचारमा आधारित )

 


 

More form the Internet

loading...