Suvadin, Home
Citizen Bank 422k

Cover Image

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अनुसन्धानमा धेरै खर्च भएपनि त्यसमा गतिलो सहकार्य नभएकामा चिन्ता व्यक्त गरे।

ललितपुर, १ चैत-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताएका छन्।  

छ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ को मस्यौदामा सुझाव लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा उनले एक सयभन्दा बढी संस्था गठन हुँदा र ९० हजार वैज्ञानिक जनशक्ति निर्माण भएपनि वस्तुनिष्ठ समीक्षा हुन नसकेको बताए।  

उपप्रधानमन्त्री पोखरेलले भने, “सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, खुशी नेपाली’को सोच साकार पार्न मुलुक कुन गतिमा अघि बढेको छ, त्यसतर्फ आकर्षित हुनु जरुरी देखिन्छ। भएको जनशक्तिलाई जीवनसँग गाँस्नुपर्छ।” 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलप्रति सुनीलबाबु श्रेष्ठले सरकारी निजी साझेदारीको अवधारणमा सरकारका तीनै तहमा नीति कसरी कार्यान्वय गर्ने भन्ने स्पष्ट नभएको बताए। 

काठमाडौँ विश्वविद्यालयका प्रा डा जनार्दन लामिछानेले युगीन पुरानो एकात्मक ढाँचाको शासन प्रणालीलाई अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उद्घोषको नयाँ युगमा प्रवेश गर्न विभिन्न नीति तथा रणनीतिमा परिवर्तन भएको उल्लेख गरे। 

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अनुसन्धानमा धेरै खर्च भएपनि त्यसमा गतिलो सहकार्य नभएकामा चिन्ता व्यक्त गरे।

मन्त्रालयका शिक्षा सचिव कृष्णराज विसीले औद्योगिक आविष्कारले नेपालको कूल ग्रार्हस्थ्य माथि पुर्याउने बताए।  चिकित्साशास्त्र अध्ययन संस्थान आइएओएको डिन डा जगदीशप्रसाद अग्रवालले कुनै पनि पेशामा आबद्ध व्यक्तिलाई थप सेवा र सुविधाका साथ एउटै पेशामा रहिरहने नीति बनाउन माग गरे। 

नौ सदस्यीय कार्यदलले तीन महीना १५ दिन लगाएर निर्माण गरेको सो मस्यौदालाई थप परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन्। राजनीतिक र आर्थिक कारणले कुण्ठित देशका प्रतिभाहरुलाई अनुसन्धान तथा आविष्कार क्षमता र प्राविधिक प्रतिभाको प्रदर्शन गराउने मस्यौदामा उल्लेख छ। 

‘देशले आकाङ्क्षा राखेर दु्रत आर्थिक विकास र प्रगतिशील समाज बनाउने सपनालाई साकार बनाउने मूल आधार नै नव–प्रवर्तन हो,’ मास्यौदामा भनिएको छ।

वैज्ञानिक तथा प्रविधि र नव–प्रवर्तनलाई राज्यले पहिलो प्राथमिकतामा राखी निरन्तर र बढ्दो क्रममा लगानी निश्चित गर्दै आफ्ना नीतिमार्फत वैज्ञानिक अध्ययन– अनुसन्धान तथा प्रविधि विकास र आविष्कारका लागि प्रतिभाहरुलाई थप ऊर्जाशील र अभिप्रेरित गर्ने वातावरण बनाउनुपर्ने मस्यौदामा माग गरिएको छ। 

मन्त्रालयले प्रस्तुत गरेको नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जनका उद्देश्य वैज्ञानिक तथा प्राविधिक जनशक्ति परिचालन, पूर्वाधार विकास तथा लगानी अभिवृद्धि गर्ने, आर्थिक वृद्धिका लागि उद्यमशीलताको प्रवद्र्धन गर्दै विज्ञान तथा प्रविधिको व्यावसायीकरण र ज्ञानमा आधारित उद्योगको विकास गर्ने, वैज्ञानिक संस्कार र अनुसन्धानमुखी शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने, विज्ञान तथा प्रविधिको उपयोगबाट सामाजिक तथा राष्ट्रिय सुरक्षाको प्रत्याभूत गर्ने र विज्ञान प्रविधि तथा नव–प्रवर्तनलाई सशक्त र क्रियाशील बनाउन एक मन्त्रिस्तरीय विज्ञान परिषद् गठन गर्ने रहेको छ।

मन्त्रालयले विभिन्न नीतिहरुमा वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान, विकास र नव–प्रवर्तनमा आकर्षित गर्ने उल्लेख गरेको छ। नेपालको पहिलो राष्ट्रिय विज्ञान तथा प्रविधि नीति २०४६ सालमा बनेको थियो। त्यसको सुधार २०६१ सालमा भयो भने हाल नयाँ नीतिको मस्यौदा तयार भएको हो।रासस


 

More form the Internet

loading...