काठमाडौंमा नेपाल-चीन ‘थिंक ट्यांक’ सम्मेलन
काठमाडौं, माघ ४
नेपाल–चीन थिंक ट्यांकसम्बन्धी दुई दिने सम्मेलन काठमाडौंमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइसहित पूर्वाधार विकासका विज्ञहरु सम्मिलित सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरेका हुन्।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाल एक चीन नीतिको पक्षमा प्रतिवद्ध रहेको बताए। उनले नेपाल चीन सम्बन्धको आधार, विश्वास, चासो र पूर्वाधार विकासका रणनीतिबारे उल्लेख गर्दै उनले नेपालले सधैं एक चीन नीतिलाई दृढताका साथ अवलम्बन गर्दै आएको स्पष्ट पारे। अध्यक्ष ओलीले सानातिना घटनालाई आधार मानेर आशंका नगर्न चिनियाँ टोलीलाई आग्रह पनि गरे।
अध्यक्ष ओलीले नेपालमा संविधान जारी भएकाले विकासको नयाँ आयाम सुरु भएको तर्क गरे। उनले नेपालले आगामी वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न गरेर आर्थिक समृद्धितर्फ अघि बढ्ने विस्वाससमेत व्यक्त गरे। अर्को प्रसंगमा अध्यक्ष ओलीले चीनले नेपालको आर्थिक विकास र विकास निर्माणमा देखाएको साझेदारी महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वपरराष्ट्र मन्त्री कमल थापाले चीन र नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध मजबुद रहेको स्पष्ट पारे। उनले चीनले विश्वव्यापी प्रजातन्त्रको मान्यतालाई आत्मसात गरेको पनि उल्लेख गरे।
अध्यक्ष थापाले नेपालले चीनसँग समेत पारबाहन र व्यापारीक सम्बन्ध राख्न सक्नुपर्नेमा पनि जोड दिए। नेपालमा पारबहनमा समस्या आउनेबित्तिकै भारतलाई मात्र गाली गर्ने परम्पराको अन्त्य गरेर चीनसँगको सम्बन्ध मजबुद बनाउनुपर्ने उनको भनाइ थियो।
नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले नेपालले चीनसँगको सम्बन्धको अधिक उपयोग गर्नुपर्ने बताए। उनले नेपालले चीनसँग व्यापारिक सम्बन्ध मजबुद बनाएर आर्थिक उन्नति गर्नुपर्ने धारणा राखे। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपालको विकास निर्माणमा चीनको साझेदारी महत्वपूर्ण रहेको बताए।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइले चीनले नेपालको विकास निर्माण दुई पक्षिय सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले आफ्नो देशबाट लिनसक्ने फाइदा धेरै रहेकाले राजनीतिक वातावण बने नेपालले चीनबाट आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा फड्को मार्न सक्ने धारणा राखे। दुई दिनसम्म चल्ने सम्मेलनमा दुई देशबीचको सम्बन्धको आधार, विस्वास, चासो र पूर्वाधार विकासबारे छलफल हुने बताइएको छ।