Suvadin, Home
NMB Bank Ltd 275.5k

१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

कसै-कसैको क्षमता यस्तो हुन्छ कि, औपचारिक शिक्षा आर्जन नगरी पनि चामत्कारिक आविष्कार गर्न सक्छन्, जसलाई देखेर दुनियाँ चकित हुन्छ। भारतको मध्य प्रदेशस्थित सागर जिल्लाका १० कक्षासम्म पढेका ४६ वर्षीय कार मेकानिक मोहम्मद रइस मकरानी पनि त्यस्तै एक आविष्कारक हुन्, जसले पानीबाट चल्ने कार बनाएका छन्। यतिमात्रै होइन, पानीबाट चल्ने कारमा मोबाइल अपरेटिङ सिस्टम राखिएको छ। जसअनुसार मोबाइलबाटै कार नियन्त्रण गर्न सकिन्छ। 
मोहम्मद रइस मकरानीले बनाएको पानीबाट चल्ने कार।

काठमाडौं, पुस १३


यो संसार विचित्रको छ। यति विचित्र कि हाम्रो सोच एकातिर हुन्छ, समयको दिशा अर्कैतिर हुन्छ।

केही यस्ता मानिस पनि छन्, हाम्रो समाजमा जो महत्वपूर्ण खोज र आविष्कार गर्ने वैज्ञानिकलाई पनि आश्चर्यचकित पार्छन्।

भारत यस्तो देश हो, जसको इतिहास नै शिक्षा र चेतनासँग जोडिएर आएको छ। आर्थिक विपन्नता भए पनि केही न केही अलग सोच राख्नु दक्षिण एसियाली नागरिकको विशेषता हो।

यही श्रृंखला भारतमा जोडिन पुगेको छ। 

कसै-कसैको क्षमता यस्तो हुन्छ कि, औपचारिक शिक्षा आर्जन नगरी पनि चामत्कारिक आविष्कार गर्न सक्छन्, जसलाई देखेर दुनियाँ चकित हुन्छ।

भारतको मध्य प्रदेशस्थित सागर जिल्लाका १० कक्षासम्म पढेका ४६ वर्षीय कार मेकानिक मोहम्मद रइस मकरानी पनि त्यस्तै एक आविष्कारक हुन्, जसले पानीबाट चल्ने कार बनाएका छन्।

यतिमात्रै होइन, पानीबाट चल्ने कारमा मोबाइल अपरेटिङ सिस्टम राखिएको छ। जसअनुसार मोबाइलबाटै कार नियन्त्रण गर्न सकिन्छ। 

वातावरणमैत्री कार

विश्वमा वातावरणमैत्री सवारीसाधन निर्माणको बहस चलिरहेका बेला रइसले बनाएको कारको महत्व अझै धेरै हुने छ। सात लाख भारतीय रुपैयाँको लागतमा निर्मित कारमा पानी प्रयोग गरे हुन्छ।

यदि यो प्रयोग वास्तवमै सही ठहरिए आउने समयमा पेट्रोलियम पदार्थको बदला पानीबाटै कार चलेको देख्न पाइने छ। 

जहाँ सोच त्यहाँ सपना, जहाँ सपना त्यहाँ सार्थकता पनि। वास्तवमा सपना सार्थक पार्नका लागि मानिसले सकेसम्म प्रयत्न गर्छ। मोहम्मद रइस मकरानी पनि त्यस्तै एक साहसी व्यक्ति हुन्।

***

आफ्नो सोच सत्यमा बदल्नका लागि उनी चीन पनि पुगे। भर्खरै भारत फर्किएका उनले सन् २०१३ मै इन्टेल लेक्चुअल प्रोपर्टी अफ इण्डियाको मुम्बईस्थित कार्यालयमा जानकारी गराएका थिए।

***

महज साइन्सबाट माध्यमिक तह पास गरेका मेकानिक रहिसको यो प्रयासमा चिनियाँ वैज्ञानिक र मेकानिकल एक्सपर्टहरूले पनि रुचिपूर्वक अध्ययन गरे।

 

चीन पनि पुगे रइस

रहिसले चीनमा इलेक्ट्रिक सवारी निर्माण गर्ने बहुराष्ट्रिय कम्पनी ‘कोलियो’का प्रबन्ध निर्देशक सुमलसनसँग भेट गरे। भेटमा रइसलाई सुमलसनले सहकार्यको प्रस्ताव गरेका थिए।

कम्पनीले यो प्रविधि अपनाएर ठूलो मात्रामा सवारीसाधन उत्पादन गर्ने रणनीति अनुसार रइसलाई चीन बोलाएको थियो।

‘मैले यसलाई भारतमै प्रयोग गर्ने सोच बनाएको छु भनेँ,’ उनले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘त्यसैले भारत फर्किएर काम गरिरहेको छु।’ 

उनले पानी र कार्बाइडबाट एसिटिलिन बनाएर इलेक्ट्रिक एनर्जी लिक्विड फ्यूल बनाएको बताएका छन्।

‘यदि कुनै कम्पनीले यसको उत्पादनको प्रतिवद्धता गरे काम अघि बढ्छ,’ उनले भनेका छन्, ‘क्याल्सियम कार्बाइड भारतमै पाइन्छ र पेट्रोलियम पदार्थभन्दा सस्तो पनि हुन्छ, अनि पर्यावरण अनुकूल पनि हुन्छ।’

सवारी कम्पनीबाट सहकार्यको अफर

लोकल वैज्ञानिक मोहम्मद रइसलाई सन् २०१२ मा दुबईको लस्टर ग्रुपले पनि सहकार्यको प्रस्ताव गरेको थियो। तर, दुबईभन्दा पनि भारतमै निर्माण गर्ने उनको प्रस्तावका कारण उक्त कम्पनी फिर्ता गएको थियो। 

यसरी तयार भयो ‘पानीकार’

मोहम्मद रइसले पेट्रोल इञ्जिनमा फेरबदल गरेर एसिटिलीनबाट चल्ने इञ्जिन बनाएका छन्। कारको पछिल्लो भागमा एउटा सिलिण्डर जडान गरिएको छ। यसमा पानी र क्याल्सियम कार्बाइड मिलाएर एसिटिलीन पैदा गरिने उनले बताएका छन्।

केही समयमै एसिटिलिन बनेपछि कार चल्न सुरू हुन्छ। बायोलोजीमा विशेष रुचि राख्ने उनी सवारीसाधन मर्मत गर्ने काम गर्छन्।

रइसका बुवा मोहम्मद सइद मकरानी पनि सवारीसाधन मर्मत गर्ने मेकानिक नै हुन्। ग्यारेजमै रहिसको ल्याब पनि छ। 

ग्यास वेल्डिङ गर्दा आएको थियो सोच

मोहम्मद रहिसका अनुसार ग्यास वेल्डिङ गर्दा पानीबाट चल्ने कारको सोच आएको थियो। गाडीको इञ्जिनको पिस्टन चलाउनका लागि आगो र करेन्ट चाहिन्छ।

वेल्डिङमा पनि क्याल्सियम कार्बाइड र लिक्विडको मिश्रणबाट आगो उत्पन्न हुन्छ। उनले आफ्नो पेट्रोल कारको इञ्जिनमा सामान्य फेरबदल गरेर र गाडीको इन्धन ट्याङ्कमा पेट्रोलको साटो पानी र क्याल्सियम कार्बाइडको पाइप लगाएका छन्।

त्यसपछि गाडी स्टार्ट गर्दा इञ्जिन चलेको उनले बताए। यो प्रविधिको विकास गर्न उनलाई पाँच वर्ष लगेको थियो।

अब मोहम्मद रहिसको कार २० लिटर पानी र दुई किलो क्याल्सियम कार्बाइडको मिश्रणबाट तयार इन्धनबाट २० किलोमिटर चल्ने रइसले बताएका छन्। 

(एजेन्सीको सहयोगमा)

 

More form the Internet

loading...