Suvadin, Home

नेपाली यू-१९ क्रिकेट टोली पराजित

 

काठमाडौं,चैत्र १६ - भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले छैटौं अभ्यास खेलमा हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाली टोली भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीसंग १ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ५२ रनको लक्ष्य आन्ध्र प्रदेशले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । आन्ध्र प्रदेशका लागि नितेश कुमारले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बास र दरानी कुमारले समान ३२र३२ रन जोड्दा सुब्रमन्यमले २९ रन बनाए  । त्यस्तै राम प्रसादले २७ तथा एस एम डि कामीलले ३३ रनको योगदान दिए । नेपालका लागि पवन सर्राफले ३ विकेट हात पार्दा प्रतिष जीसीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि अभिषेक बस्नेत र सन्दीप जोराले १ सय १३ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।

नेपालको सम्मान जनक स्कोरमा सन्दीपले ६९ तथा अभिषेकले ३५ रन बनाए । यस्तै राशिद खानले ४४, हरि बहादुर चौहानले ३५, रित गौतमले २२ तथा शेर मल्लले अविजित १७ रन बनाए ।

कप्तान रोहित कुमार पौडेललाई छैटौं अभ्यास खेलमा विश्राम दिईएको थियो । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली भारतको आन्ध्र प्रदेश रहेको छ ।

अप्रिल १० देखि २० सम्म आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।


 

More form the Internet

loading...