Suvadin, Home

जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण प्राप्त

नेपालगंज, बैशाख ९ - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा एपिएफ क्लबका राजु राईले ५ स्वर्ण पदक जितेका छन् । सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते । यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश ३ का उज्वल तिवारीले कास्य पदक हात पारे ।

पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । राजुले पार्लर बारमा पनि स्वर्ण जिते । यस स्पर्धामा प्रदेश ३ का सत्यनारायण मानन्धर रजत र प्रदेश ७ का जितेन्द्र चौधरीले कास्य जिते ।

अलराउन्डरमा राजुले स्वर्ण जित्दा प्रदेश ३ का सत्यनारायण मानन्धरले रजत र एपीएफक बिष्णु बाटाले कास्य जिते । राजुले सातौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण जितेका थिए ।

भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण, प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् ।

भल्तिङको महिलामा पनि पिंकी झाङले स्वर्ण हात पारिन् । यस्तै प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । महिला अलराउन्डरमा प्रदेश ३ कि तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कि प्रकृति थापा मगरले कास्य जितिन् ।

टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण जित्दा, प्रदेश ३ ले रजत र प्रदेश ७ ले कास्य जित्यो । महिलातर्फ प्रदेश ३ ले स्वर्ण,एपीएफले रजत र प्रदेश ५ ले कास्य जितेका छन् ।


 

More form the Internet

loading...