Suvadin, Home

भारतीय लिगमा सावित्रा भण्डारीकाे उत्कृष्ट 'डेब्यु'   

काठमाडाैं, बैशाख २४ - भारतमा सुरु भएको इन्डियन विमिन्स लिग आइडब्लुएलमा पहिलो नेपाली खेलाडीको प्रवेश शानदार भएको छ। मैदान छिरेको २८ सेकेन्डमा नै चर्चित नेपाली स्ट्राइकर सावित्रा भण्डारीले गोल गरिन्।

चार गोल गरेकी भण्डारी 'वुमन अफ द म्याच' भइन् र आफ्नो टोली सेथु क्लबलाई प्रतिद्धन्दी मणिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ६-४ को विजय दिलाउन सहयोग गरिन्। पहिलो पटक नेपाली महिला फुटबल खेलाडीले विदेशबाट खेल्न सुरु गरेको यो प्रदर्शन उच्चस्तरको भएपनि भण्डारीको खेलयात्रा बुझ्नेहरूका लागि यो अचम्मको प्रदर्शन भने होइन।

पाँच वर्ष अगाडिसम्म उनी फुटबल बुट कहिले लाउन पाउने होला भनेर कल्पिन्थिन्। लमजुङको गाउँमा लुकेर बसेको उनको प्रतिभा तीन वर्ष अगाडि सशस्त्र प्रहरी बल एपीएफमा जागिरेको रूपमा सुरु भएपछि खुल्यो । चितवनमा खेलेको राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै आठ गोल गरेपछि त उनले राष्ट्रिय टोलीको ढोका खोलिन्।

अनि पहिलो अन्तराष्ट्रिय खेलमा भुटानविरुद्ध आठ गोल गरेपछि उनको चर्चा चुलियो। खेलाडी जीवनको छोटो यात्रामा उनले तीव्र गतिमा फड्को मारेकी छन्। 


 

More form the Internet

loading...