Suvadin, Home

आज १३ औं सागको छैटौं दिन १९ खेल, कुन खेल कहाँ ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको छैटौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछन् ।

सागमा शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

क्रिकेट :

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू-२३ को सामना गर्ने छ । यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंका माथि जित निकाल्नुको बिकल्प छैन । नेपाल पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । यस्तै टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटको हार ब्यहोरेको थियो । खेल बिहान ११ बजे हुनेछ ।

बक्सिङ :

साग अन्तर्गत शुक्रबारबाट बक्सिङ सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका तर्फबाट ४९ केजीमा सुशील थापा मगरले भुटानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, ६० केजीमा सनिल शाहि र ६४ केजीमा भुपेन्द्र थापा मगरले भुटानी खेलाडीसँग खेल्नेछन् । ७५ केजी तर्फ दिपक श्रेष्ठले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ९ खेलको फाइनल चरणको खेल हुनेछ ।

सुटिङ :

सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा र्यापिड फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेलपनि हुनेछ । महिला खेल शुक्रबार फाइनल हुनेछ ।

भारोत्तोलन :

भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ । पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ ।

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन् । स्यान्टु श्रेष्ठले अमलराज एन्थोनिसँग प्रतिस्पर्धा गर्नेछन् ।

ह्याण्डबल :

ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ ।

पौडी :

पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पहिलो दिन १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।

बास्केटबल :

बास्केटबल शुक्रबार तीन खेल हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ । महिलामा भारत र माल्दिभ्स खेल्ने छन् ।

कब्बडी :

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ । जसबाट समूह विजेता र उपविजेता तय हुनेछ ।

महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ ।

कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् ।

ब्याडमिन्टन :

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ ।

शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनलमा पराजित भएपछि नेपालको ब्याडमिन्टनमा स्वर्ण जित्ने सपना समाप्त भएको थियो ।

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको तेस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।

आर्चरी :

आर्चरी खेल शुक्रबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ ।

अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।

आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

स्क्वास :

शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन् । प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ । पहिलो दिन राउण्ड र क्वाटरफाइनलका खेल हुनेछन् ।

बीच भलिबल :

बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ । बिहिबार नेपालले महिला र पुरुषको चार खेलमा पराजय व्यहोरेको थियो ।

फेन्सिङ :
फेन्सिङको खेलहरु शुक्रबारबाट शरु हुनेछ । पहिलो दिन केहि विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिस :

टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ ।

पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।

कुस्ती :

कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ ।

साइक्लिङ :

साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ ।


 

More form the Internet

loading...