Suvadin, Home
Nepal life 3.22M

‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक

अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ। पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ। सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ।

काठमाडौं,२० पुस – अखिल नेपाल फुटबल सङ्घ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ।

एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २ गते सञ्चालन हुनेछन्।

अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ। पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ। सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ।

पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा मैदान तथा फ्रेन्ड्स क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच हल्चोकमा खेल हुनेछ।

पुस २३ गते सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब र सङ्कटा र एपिएफबीच खेल हुनेछ। दुवै खेल एन्फा मैदानमा खेल हुनेछ।

पुस २३ गते लिगको अन्तिम दिन हिमालयन शेर्पा र थ्रीस्टारबीच खेल हुनेछ। उक्त खेलसँगै लिगका सबै खेल सकिनेछ। सोही दिन लिगको समापन समारोह हुनेछ।

लिगको १२औँ चरणका खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी विजेता र सङ्कटा उपविजेता भइसकेका छन्। लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन्।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन्। लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन्। फेयर प्ले टिमले एक लाख पाउने छन्।

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ। रासस


 

More form the Internet

loading...